युनाइटेड स्कुलका २ सय ५ जना विद्यार्थीलाई ‘सदाचार शिक्षा’


पालिका पत्र

४ माघ २०८०, बिहीबार २१:२९ मा प्रकाशित

कपिलवस्तु, माघ ०४ । विद्यालय उमेरका बालबालिकालाई किताबी ज्ञान मात्रै होइन, व्यवहार र संस्कार सहितको शिक्षा पनि आवश्यक हुन्छ । त्यस्तो शिक्षा घर, परिवार, समुदाय र स्कुलले दिन सक्छन् । कतिपय विद्यालय र परिवारले बालबालिकाको यो आवश्यकता पूरा गराउन ध्यान दिन नसकेका पनि हुन सक्छन् । तर यही बेला कपिलवस्तुको बाणगङ्गा ८ चप्परगाउँ स्थित युनाइटेड स्टुडेन्ट एकेडेमी माध्यमिक विद्यालयले भने विद्यार्थीलाई सदाचार सहितको शिक्षाको सुरुवात गरेको छ ।

बालबालिकाहरूमा योग, साधना, असल आचरण, संस्कार मार्फत उनीहरूमा भावनात्मक व्यवहार रूपान्तरण सहित असल मनोभाव विकासका लागि बिहीवार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका २०५ जना विद्यार्थीहरूलाई सदाचार शिक्षा तथा अभिभुखिकरण कार्यक्रम गरिएको युनाइटेडले जनाएको छ ।


सधै विद्यालय पोशाकमा कक्षा कोठामा बसेर पाठ्यक्रममा आधारित पुस्तकको रटान गर्ने विद्यार्थीहरू सदाचार शिक्षाका लागि बाणगंगाको प्रसिद्ध स्थल कपिलधाममा सहभागी थिए । अहिलेका बालबालिकाहरूलाई कक्षाकोठामा अध्यापन गराइने निर्दिष्ट पाठ्यक्रम सिकाइले मात्र उनीहरूको असल जीवन निर्माण पर्याप्त नहुने हुँदा उनीहरूको असल जीवन  निर्माणका लागि यो कार्यक्रम आवश्यक रहेको विद्यालयका प्रिन्सिपल कृष्ण के. सीको भनाइ छ ।

विद्यालय तह देखि नै असल सम्बन्ध निर्माण, असफलतामा सम्हालिने क्षमताको विकास, क्षमाशीलता, लगनशीलता, धैर्यता,  उदारता, करुणा, परोपकारिता, सत्यता जस्ता गुणको विकासका लागि यस्ता कार्यक्रम आवश्यक हुने विद्यालयको विश्वास छ । यसबाहेक विद्यार्थीमा वित्तिय व्यवस्थापन एवम् शारीरिक र मानसिक स्वास्थ्य कायम गरि स्वस्थ आचरण, स्वस्थ विचार सहित स्वस्थ जीवनयापनका विविध आयामका सन्दर्भमा आध्यात्मिक व्यक्ति, पुर्बिया दर्शनका विज्ञ, प्राकृतिक आरोग्य चिकित्सक सन्त बाबा योगिराजले प्रशिक्षण दिनु भएको विद्यालयका शिक्षक विश्वास घिमिरेले  जानकारी दिए ।


यस किसिमका कार्यक्रम तथा शिक्षाले बालबालिकालाई समयसँगै आउने जीवनका उतारचढावमा निर्णय क्षमताको समेत विकास हुने अपेक्षा गरिएको छ । सहभागी विद्यार्थीले समेत विद्यालय शिक्षा सँगसँगै आफुहरुलाई व्यवहारिक सीप र आचरणको शिक्षा पनि आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्