धुर्कोट गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालन


पालिका पत्र

१५ माघ २०८०, सोमबार १८:३६ मा प्रकाशित

गुल्मी, १५ माघ । गुल्मीको धुर्कोट आधारभूत अस्पतालमा १५ शय्याको सेवा शुभारम्भ गरिएको छ । धुर्कोट गाउँपालिकाको वडा –६ रजस्थलमा रहेको यस अस्पतालमा सो सेवा शुभारम्भ गरिएको हो ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले अस्पतालको सेवा शुभारम्भ गर्नुहुँदै प्रदेशले सबै जिल्लाका पालिकामा १५ शैयाको अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले आवश्यक जनशक्ति व्यवस्थापन गर्ने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले २४ घण्टा सेवा लिने बिरामीलाई लक्षित गर्दै गाउँमै १५ शय्याको अस्पताल सञ्चालन गरेको बताउनुभयो । अस्पताल सञ्चालनका लागि गाउँपालिकाले आन्तरिक रुपमा हाललाई जनशक्ति व्यवस्थापन गरेको उहाँले बताउनुभयो ।

अस्पतालमा १५ शय्याको सेवा सुरु भएसँगै अस्पतालमा आएका बिरामीलाई भर्ना गरेर २४ घण्टा सेवा दिन सकिने अस्पताल व्यवस्थापन समिति अध्यक्ष देवेन्द्र भण्डारीले बताउनुभयो । आकस्मिक बिरामीलाई पनि थप सहज हुने र अस्पतालको स्तरोन्नति भएसँगै अन्तरङ्ग सेवा पनि थप हुने बताइएको छ ।

अस्पताल १५ शय्यामा स्तरोन्नति भएसँगै चारजना जनशक्ति थप गर्नुपर्ने हुन्छ । हाल यस अस्पतालबाट प्रसूति सेवा, ल्याब सेवा, ओपिडी सेवालगायतका आधारभूत सेवा प्रवाह भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्