तानसेनको भगवती मन्दिर तीनतले बनाइँदै


पालिका पत्र

१६ माघ २०८०, मंगलवार १८:१० मा प्रकाशित

तानसेन, १६ माघ । तानसेनस्थित ऐतिहासिक भगवती मन्दिर तीनतले बनाइने भएको छ । १९९० सालको भूकम्पअघिकै स्वरूपमा भगवती मन्दिर बनाउने तयारी गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । १९९० सालको भूकम्पअघि तीनतले रहेको भगवती मन्दिर भत्काएपछि दुईतले बनाइएको थियो । मन्दिर जीर्ण भएसँगै छानो चुहिएर प्लास्टिकको ओत राखिएको छ । मन्दिरको अवस्था जीर्ण भएका कारण मन्दिर पुनर्निर्माण गर्ने र उक्त मन्दिर तीनतले बनाउने तयारी भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार महर्जनले बताउनुभयो ।

उक्त मन्दिर तीनतले बनाउन डिजाइन र स्टिमेटको काम भइरहेको छ । त्यसका लागि आवश्यक बजेट लुम्बिनी प्रदेश सरकार र पुरातत्व विभागसँग माग गर्ने छलफल भइरहेको समितिका अध्यक्ष महर्जनले बताउनुभयो । जीर्ण भएको दुईतले मन्दिर भत्काएर पुरानै तीनतले स्वरूपमा बनाउन करिब चार करोड रुपियाँ लागत लाग्ने अनुमान गरिएको छ । १८७१ सालमा नेपाल–अङ्ग्रेज युद्धमा नेपाली फौज विजय भएपछि तत्कालीन कर्णेल उजिरसिंह थापाको निर्देशनमा तीनतले मन्दिर बनाइएको थियो । त्यसअघि भगवतीको मन्दिर सानो थुम्काका रूपमा रहेको जानकारहरू बताउँछन् । नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेमा आफूले ठुलो मन्दिर बनाउने र भगवतीको महिमा फैलाउने कर्णेल थापाले भाकल गर्नुभएको थियो । जितगढी किल्ला विजय गरेर आएपछि १८७६ सालदेखि तानसेनमा लगातार भगवतीको जात्रा निकाल्ने प्रचलन रहेको छ । नेपाल–अङ्ग्रेजको युद्धमा जितगढी किल्ला विजय गरेपछि भगवतीको मन्दिर तीनतले बनाइएको इतिहासविद् निर्मल श्रेष्ठले बताउनुभयो ।

तीनतले मन्दिर १९९० सालको भूकम्पमा भत्किएपछि दुईतले निर्माण गरिएको थियोे । तानसेन बजार क्षेत्रमा रहेको ऐतिहासिक भगवती मन्दिरलाई तीनतले बनाएर यसको ऐतिहासिकता कायम गर्न सकिने उहाँले उल्लेख गर्नुभयो । भगवतीको महिमा फैलाउन हरेक वर्ष भगवती जात्रा मनाउने प्रचलन रहेको छ । यो जात्रालाई राष्ट्रिय पर्वका रूपमा मान्यता दिन नेपाल सरकारसमक्ष माग गरिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्