वडा सरकारको सहयोगमा महिलाहरूका लागि वाद्यवादन तालिम 


पालिका पत्र

२० माघ २०८०, शनिबार २१:४५ मा प्रकाशित


बाणगङ्गा, २० माघ । 
बाणगङ्गा १ का महिलाहरूका लागि सञ्चालित १० दिने वाद्यवादन तालिम जेसिज भवनमा शुक्रबार सम्पन्न भएको छ । नेपाली लोक परम्परागत सांस्कृतिक प्रतिष्ठान कपिलवस्तुको आयोजना र बाणगङ्गा नगरपालिका वडा नं . १ को सहयोगमा महिलाहरूको लागि १० दिने वाद्यवादन तालिम सञ्चालन गरिएको थियो ।

समापन कार्यक्रमको प्रमुख अतिथि बाणगङ्गा नगरपालिकाकी उपमेयर रीता चौधरीले सबै जातजाति, समुदाय, भाषा, कला र धर्मसंस्कृतिप्रति आफ्नो सद्भाव र सहयोग सदैव रहेको बताउनुभयो । उपमेयर चौधरीले विभिन्न भाषा धर्म संस्कृतिको विविधता भएकाले यस नगरमा यहाँ रहेका संस्कृति संरक्षणमा आफूले जोड दिने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले कला संस्कृतिले व्यक्तित्व विकास संगै स्वस्थ समाज निर्माणमा टेवा पुग्ने बताउनुभयो ।

बाणगङ्गा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सन्जु सारु , जिल्ला समन्वय समिति सदस्य सुमित्रा परियार, स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, निवर्तमान वडाध्यक्ष बालकुमारी पन्त अधिकारी, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, वडा सदस्य टोपकला विसी, समाजसेवी सुशीला घिमिरे लगायतले नेपाली परम्परा जोगाइराख्न नगरपालिकाले महिलाहरूलाई लक्षित गरी कार्यक्रमहरू ल्याउनुपर्ने बताएका थिए । हाम्रा परम्पराहरू लोप हुन नदिन वाद्यवादन संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनको लागि सबैले सक्दो सहयोग गर्ने बताएका थिए ।

वाद्यवादन तालिममा सहभागी प्रशिक्षार्थी महिलाहरूलाई कदर पत्रले सम्मान गरिएको थियो । समापन कार्यक्रमको अध्यक्षता निवर्तमान वडाध्यक्ष बालकुमारी पन्त अधिकारीको अध्यक्षता, समाजसेवी उषा नेपालको स्वागत तथा प्रतिष्ठानका अध्यक्ष बुद्धिसागर बेल्बासेको सञ्चालनमा सम्पन्न भएको थियो ।

तालिमको प्रशिक्षकमा लिलापती घिमिरे, बुद्धिसागर बेल्बासे र मोहन गौतम रहनुभएको थियो । महिलाहरूलाई मादल, खैजडी, मजुरा, हारमुनियम लगायतका वाद्यवादन सिकाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्