बाणगङ्गा नगरपालिकाको नवौं कार्यपालिका बैठकमा के भए महत्वपूर्ण निर्णय ?


पालिका पत्र

२५ माघ २०८०, बिहीबार १७:०९ मा प्रकाशित

बाणगङ्गा, माघ २५ ।
कपिलवस्तु बाणगङ्गा नगरपालिका नगर कार्यपालिकाको बैठक बिहीबार कार्यालयमा सम्पन्न भएको छ । नगरपालिकाको बिहीबार बसेको नवौं कार्यपालिका बैठकले नगरको समग्र कार्यसम्पादनको समीक्षा, एकीकृत घुम्ती शिविर, सार्वजनिक सेवा लगायतको कार्यप्रगति सन्तोषजनक रहेको निष्कर्ष निकालेको नगर प्रवक्ता तथा वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा महालेखा परीक्षकको प्रारम्भिक प्रतिवेदनमाथि समीक्षा गरिएको छ । विकास निर्माणमा लागत साझेदारी योजनालाई अघि बढाउने निर्णय गरेको छ जसमा नगरपालिकाले ७० / ३० र ५० / ५० प्रतिशतको डेढ डेढ करोड गरी ३ करोडको लागत साझेदारी योजना विनियोजन गरेको प्रवक्ता पौडेलले बताए।

त्यस्तै बैठकले सार्वजनिक जग्गा संरक्षणको लागि नगरको बजेट बाँडफाँड गरेको छ । नगरको २० लाख बजेटबाट वाणगङ्गा नगरपालिका अन्तरगत सार्वजनिक जग्गा संरक्षणमा बजेट बाँडफाँड गरिएको छ । जसमा वाणगङ्गा आयुर्वेद अस्पताल जलेश्वरधाम, वडा न. ११ र वडा न. ७ मा रहेको सार्वजनिक जग्गा संरक्षणको योजना रहेको छ । सोही बैठकले तराई मधेश समृद्धि कार्यक्रम अन्तरगतका योजनाहरू छनौटगरी सम्बन्धित कार्यालयमा पठाउने निर्णय गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जिल्लाको १० वटा स्थानीय तहमध्ये बाणगङ्गा नगरपालिका संस्थागत स्व मूल्यांकनको नतिजामा बाणगङ्गा पहिलो हुन सफल भएकोले सबैलाई धन्यवाद दिदै यसको निरन्तरताको लागि कर्मचारी टिम जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताए । आर्थिक वर्ष ०७९ / ८० मा ८९. ५ प्रतिशत अङ्क प्राप्त गरी प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

बैठकमा नगर प्रमुख चक्रपाणी अर्यालले विकासका कामलाई तिव्र गतिमा अगाडि बढाउन योजनाहरू समयमै सम्पन्न गर्न आवश्यक सहजिकरणको लागि निर्देशन दिए । नगरको सेवा प्रवाह, विकास निर्माणमा एकजुट भएर काम गर्न सबै निकायलाई आह्वान गरे ।

त्यस्तै नगर उपप्रमुख रिता कुमारी चौधरीले लक्षित वर्गका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउदै नगर र वडाका योजना कार्यक्रमलाई समयमै सकेर नगरपालिकाको कार्य सम्पादनमा उत्कृष्ट बनाउन सबै पक्षलाई आग्रह गरिन । बैठकमा ११ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्