कपिलवस्तु उद्योग वाणिज्य संघः अध्यक्ष क्षेत्री सहित नयाँ पदाधिकारीहरूले लिए सपथ


पालिका पत्र

१३ फाल्गुन २०८०, आईतवार १०:३० मा प्रकाशित

कपिलवस्तु, फागुन १३ । कपिलवस्तु उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण एवम् पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । शनिवार नवनिर्वाचित अध्यक्ष गणेश बहादुर क्षेत्री सहित नयाँ पदाधिकारीहरूले सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला नगर केन्द्रीय उपाध्यक्ष श्रीकृष्ण वैद्यले नवनिर्वाचित पदाधिकारीहरूले आग्रह पूर्वाग्रह नराखी सम्पूर्ण उद्योगी व्यवसायीहरूको पक्षमा काम गर्नुपर्ने बताए । आर्थिक मन्दीका कारण पछिल्ला केही वर्ष यता देश भरका उद्योगी व्यवसायी मर्कामा परेको भन्दै उनीहरूलाई माथि उठाउने गरि काम गर्न आग्रह गरे ।

त्यस्तै बाणगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले कुनै पनि क्षेत्रको विकासको लागि सरकार र निजी क्षेत्रको सहकार्य जरुरी रहेको भन्दै संघ सङ्ग नगरपालिका सहकार्य गर्न तत्पर रहेको बताए ।

शपथ ग्रहण पछि बोल्दै नवनिर्वाचित अध्यक्ष गणेश बहादुर क्षेत्रीले आफूले जिल्लाका उद्योगी व्यवसायीहरूको पक्षमा खटेर काम गर्ने प्रतिबद्धता जनाउँदै त्यसमा सहयोग गर्न सबैलाई आग्रह गरे । चुनावी प्रतिस्पर्धा बाट आफूहरू आएको भएपनि संघ र व्यवसायीलाई माथि उठाउन सबैको उत्तिकै भूमिका रहने भएकाले सहकार्यका हतहरु सधै रहिरहनेमा विश्वास व्यक्त गरे ।

उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य केशव भण्डारी, जम्सेर  अलिमिया लगायतले बोल्दै सङ्घमा निर्वाचित पदाधिकारीहरूलाई चुनौती र अवसर दुबै रहेको भन्दै जिम्मेवार भएर अगाडि बढ्नुपर्ने बताए ।

आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख उद्धव राज न्यौपानेले उद्योग वाणिज्य संघ र कर कार्यालय बीचको सम्बन्ध सकारात्मक हुनुपर्नेमा बताए ।

निवर्तमान अध्यक्ष डोलकराम घिमिरेले आफू अध्यक्ष भैरहँदा उद्योग व्यवसायीको पक्षमा भरपुर काम गरेको भन्दै आगामी दिनमा आफ्नो सहयोग रहिरहने बताउँदै ३ वर्षे कार्यकालमा आफूहरूले व्यवसायीको पक्षमा विभिन्न काम गरेको भन्दै अबको नेतृत्वले अझ प्रभावकारी ढङ्ग बाट काम गर्नेमा विश्वास व्यक्त गरे ।

पूर्व लेखा संयोजक मोहन न्यौपाने, पूर्व अध्यक्ष देवी प्रसाद पाण्डे, चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी पाण्डे, कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलखबहादुर पछाइ लगायतले सबै पक्षलाई समेट्दै संस्थालाई बलियो बनाउन आवश्यक रहेकोमा जोड दिए ।

महिला उपाध्यक्ष इन्दिरा तिमिल्सिनाको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन निवर्तमान महासचिव मनोज पौडेल, वर्तमान सचिव नवदत घिमिरेले गरेका थिए । कार्यक्रमका संघका निवर्तमान अध्यक्षहरू, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, व्यवसायी पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्