तौलिहवाको तौलेश्वरनाथ मन्दिरबाट सुन चोर्ने ६ भारतीय महिला पक्राउ


पालिका पत्र

14 September, 2026 6:25 pm मा प्रकाशित

कपिलवस्तु, २९ भदौ । हरितालिका तीजको अवसरमा कपिलवस्तुको प्रसिद्ध तौलेश्वरनाथ महादेव मन्दिरमा पूजा गर्न पुगेका श्रद्धालु महिलाका सुनका गहना चोरी गरेको आरोपमा ६ जना भारतीय महिला पक्राउ परेका छन् ।

सोमबार मन्दिरमा पूजाआजा गर्न आएका महिलाको सुनको सिक्री तथा लकेट चोरी गरेर भागिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले मन्दिरको मुख्य ढोकाअगाडिबाट नियन्त्रणमा लिएको हो । तीजको अवसरमा मन्दिरमा श्रद्धालुहरूको ठूलो भीड लागेको मौका छोपेर उनीहरूले गहना चोरी गरेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।

पक्राउ परेका महिलाहरूलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ । उनीहरूबाट चोरी गरिएका गहना तथा अन्य सामग्रीसमेत बरामद भए नभएको विषयमा प्रहरीले विस्तृत विवरण सार्वजनिक गर्न बाँकी छ ।

घटनापछि मन्दिर परिसरमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ । तीजजस्ता पर्वमा मन्दिर तथा धार्मिकस्थलमा ठूलो भीड हुने भएकाले श्रद्धालुहरूलाई आफ्ना गरगहना तथा बहुमूल्य सामानको सुरक्षामा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्