नेपाल अर्बुद रोग निवारण संस्थाको अध्यक्षमा पुनः ज्ञवाली निर्वाचित


पालिका पत्र

३० फाल्गुन २०८०, बुधबार ०८:४९ मा प्रकाशित

फागुन ३० गते । नेपाल अर्बुदरोग निवारण संस्था कपिलवस्तुको अध्यक्षमा पुनः राजेश ज्ञवाली निर्वाचित भएका छन् । संस्थाको प्रथम साधारण सभा तथा प्रथम अधिबेशनबाट पुनः ज्ञवाली अध्यक्षमा निर्बिरोध निर्बाचत भएका हुन् ।

अधिवेशनले ज्ञवालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । तीन बर्षे कार्यकालका लागि चयन गरिएको कार्यसमितिको सदस्यमा रविन्द्र नाथ ठाकुर, अजय कुमार श्रीवास्तव, हविब अहमद, सबिता श्रेष्ठ, इन्दिरा पौडेल देवकोटा, खिमानन्द पाठक, मुख्तार अहमद खाँ, कमला भण्डारी, मोतिराज घिमिरे र अशोक कुमार गुप्तालाई सर्वसम्मत चयन गरेको निर्वाचन अधिकृत राजु कुमार श्रीवास्तवले जानकारी दिए ।

पुनः एक कार्यकालको सभापतिमा चयन भएपछि अध्यक्ष ज्ञवालीले संस्थाले पहिले गरेको सेवामुलक कामको जानकारी गराउँदै आगामी दिनमा पनि संस्थालाई सेवामुखी संस्थाको रुपमा अगाडि बढाउने बताए । संस्थाले भविष्यमा यसै क्षेत्रमा अस्पताल निर्माण गरि रोगीहरुको उपचार सरल र सहज बनाएर रोग न्युनिकरण गर्ने उदेश्य रहेको अर्बुद रोग निवारण संस्थाका अध्यक्ष ज्ञवालीले बताए ।

बिश्व नै अर्बुद (क्यान्सर) रोगले आक्रान्त बनेको अवस्थामा गाउँ गाउँको कुना कुना सम्म विभिन्न कार्यक्रम गरि जनचेतना फैलाउँदै अर्बुद रोग न्युनिकरण गर्न पूर्ण रुपमा कार्य गर्ने उदेश्य अनुरुप २०८० असार २९ गते २६ जना आजीवन सदस्यहरुले सक्रिय रुपमा संयुक्त हस्ताक्षर सहित समाजसेवी ज्ञवालीकै अध्यक्षतामा कपिलवस्तुको तौलिहवामा अर्बुद रोग निवारण संस्थाको स्थापना गरिएको थियो ।

अधिवेशनको उद्घाटन गर्दै कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले क्यान्सरका कारण अहिले पनि धेरै नागरिकले अकालमा ज्यान गुमाई रहनु परेको बताउँदै त्यसको न्यूनिकरण गर्नको लागि शिक्षा, जनचेतना अभिबृद्धि तथा रोकथाम र नियन्त्रणको क्षेत्रमा काम गर्ने विश्वास व्यक्त गरे । उनले यो अभियानमा आफू पनि संगसंगै रहेको बताउँदै आफ्नो ठाउँबाट आवश्यक पर्ने सहयोग गर्न तयार रहेको भनाई राखे ।

कार्यक्रममा समाजमा उच्च योगदान पुर्याउनु भएका समाजसेवीहरु हरिराज शर्मा, उमा पौडेल तथा रविन्द्र नाथ ठाकुरलाई संस्थाद्वारा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्