बैशाख , ८ २०८३
पछिल्ला केही दिनदेखि देशका अधिकांश भागमा तापक्रम तीव्र रूपमा बढेसँगै अत्यधिक गर्मी बढेको छ। विशेषगरी तराई क्षेत्रका जिल्लाहरूमा तातो हावाको लहर ‘लु’ चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ।
विभागका अनुसार आज दिउँसो सार्वजनिक गरिएको तथ्याङ्कमा कपिलवस्तुमा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस र बाँकेमा ३९ डिग्री सेल्सियस मापन गरिएको छ। मधेस, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, उपत्यका र खोँचहरूमा गर्मी बढेको छ भने सुदूरपश्चिम र लुम्बिनीका पश्चिमी तराईमा ‘लु’ चल्ने सम्भावना उच्च रहेको जनाइएको छ।
विभागका मौसमविद् सञ्जिव अधिकारी का अनुसार बुधबारसम्म तराई, उपत्यका र खोँच क्षेत्रमा तातो हावाको लहर कायम रहने अनुमान गरिएको छ। कोशी प्रदेशमा भने बादल लागेकाले तत्काल ‘लु’ को जोखिम कम रहेको बताइएको छ। नेपालगन्ज, धनगढी लगायत पश्चिमी तराईका क्षेत्रमा जोखिम अझ बढी देखिएको छ। दिपायलमा समेत तापक्रम करिब ४० डिग्री पुगेको उल्लेख गर्दै उनले यसलाई असामान्य अवस्था बताएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का वरिष्ठ हाइड्रोलोजिस्ट राजेन्द्र शर्मा ले जलवायु परिवर्तनका कारण यस्ता घटना बढ्दै जाने भएकाले समयमै तयारी र जनचेतना आवश्यक रहेको बताए। उनका अनुसार चिसो वातावरणको व्यवस्था, स्वच्छ खानेपानीको पहुँच र बालबालिका, वृद्ध तथा गर्भवती महिलाको विशेष हेरचाह अत्यन्तै आवश्यक छ।
स्वास्थ्यमा असर
जनस्वास्थ्यविद् डा। समीर अधिकारी का अनुसार ‘लु’ लाग्दा मुटुको गति तीव्र हुने, श्वासप्रश्वासमा समस्या, रक्तचाप घट्ने, टाउको दुख्ने, आँखा पोल्ने, चक्कर लाग्ने तथा अचेत हुने जस्ता लक्षण देखिन सक्छन्। गम्भीर अवस्थामा यसले मस्तिष्क र रक्तप्रणालीमा असर पार्न सक्ने उनी बताउँछन्।
त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय का अनुसार शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा माथि पुग्ने, छाला सुक्खा र रातो हुने जस्ता लक्षण देखिन सक्छन्। बालरोग विशेषज्ञ डा। रामहरि चापागाईं ले बालबालिकामा जोखिम बढी हुने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।
विश्व स्वास्थ्य सङ्गठन को अध्ययनले जलवायु परिवर्तन, सहरीकरण र वायु प्रदूषणका कारण गर्मीजन्य समस्या बढ्दै गएको देखाएको छ। सन् १९८७ देखि २०१६ सम्मको तथ्याङ्क विश्लेषणले पनि गर्मी दिनहरूको सङ्ख्या वृद्धि भएको पुष्टि गरेको छ।
कृषिमा असर
अत्यधिक गर्मीले कृषि तथा पशुपालन क्षेत्रमा पनि नकारात्मक प्रभाव पार्ने देखिएको छ। कृषि विज्ञ डिल्लीराम शर्मा का अनुसार ‘लु’ का कारण बाली सुक्ने, फूल झर्ने र उत्पादन घट्ने जोखिम हुन्छ। विशेषगरी मकै र तरकारी बालीमा असर देखिन सक्ने उनले बताए। पोलिहाउस प्रविधिको प्रयोगले केही हदसम्म जोखिम कम गर्न सकिने सुझाव दिएका छन्।
कसरी जोगिने ?
प्राधिकरणले ‘लु’ बाट जोगिन दिउँसो घरबाहिर ननिस्कन, प्रशस्त पानी तथा फलफूलको रस सेवन गर्न र अत्यधिक पसिना आएमा जीवनजल प्रयोग गर्न सुझाव दिएको छ। बाहिर निस्कनु परे टाउको छोप्ने, छाता प्रयोग गर्ने, चिसो पानीले नुहाउने र बिहान वा बेलुका मात्र काम गर्ने सल्लाह दिइएको छ।
यसैगरी मदिरा, क्याफिनयुक्त पेय पदार्थ तथा अत्यधिक चिनी भएको झोल पदार्थ कम प्रयोग गर्न पनि आग्रह गरिएको छ।
‘लु’ के होर ?
अत्यधिक गर्मीका कारण उत्पन्न हुने तातो हावाको लहरलाई ‘लु’ भनिन्छ। लगातार तीन दिन वा सोभन्दा बढी समय अत्यधिक तापक्रम कायम रहेमा यसलाई तातो हावाको लहरका रूपमा वर्गीकरण गरिन्छ।
