नवजागृति सामुदायिक बनमा भएको लफडा के हो ?


पालिका पत्र

४ चैत्र २०८०, आईतवार २०:०२ मा प्रकाशित

कपिलवस्तु, चैत्र ०४ ।
बाणगङ्गा नगरपालिका वडा न. २ मा रहेको नवजागृति सामुदायिक बनमा पदाधिकारी बिचमा नै विवाद भएको छ । वनका भएका विभिन्न गतिविधिमा आरोप प्रत्यारोप लगाउदै समितिका पदाधिकारीहरू बिचमै विवाद उत्पन्न भएको हो । 

गत वर्ष यस वनमा हेमनाथ पौडेलले चुनावमार्फत नयाँ नेतृत्व पाए । त्यसअघिका अध्यक्ष रहेका नेकपा एमालेका पदमलाल अधिकारीलाई पराजित गर्दै माओवादीका पौडेलले चुनाव जिते । ११ जनाको कार्यसमितिमा उनले अध्यक्ष पदमा हत्याउँदा अरु १० जना भने नेकपा एमाले, काँग्रेस, राप्रपा लगायतबाट विजयी भए । अध्यक्ष बाहेकका पदमा अधिकांश एमालेका प्रतिनिधि छन् । त्यसपछि सो बनमा सधैँजसो विवाद भइरहेको छ ।

नेपालकै पहिलो सामुदायिक बनको परिचय बोकेको वनमा अहिले रूख कटान र कुलो सार्ने विषय विवादित छ भने यही विषयले उग्र रूप लिँदा अध्यक्ष, कार्यसमिति सदस्य र उपभोक्ताबीच आइतबार बनको कार्यालय रहेको स्थान गोबड्डिहवामा हात हालाहालको स्थिति सम्म सिर्जना भएको छ । अध्यक्ष पौडेलकी श्रीमती र अर्की एक महिला हातहालाहालमा उत्रेकी थिइन् । अध्यक्षकी श्रीमतीले आफ्नो हातमा चोट लागेको कारण नसहने बताएकी छन् ।

कुलो सार्ने र रूख कटान गर्ने विषयमा अध्यक्षले एकलौटी गरेको भनेर १० जना कार्यसमितिका सदस्यले राजिनामा दिएका छन् भने राजिनामा दिनु अनुपयुक्त रहेको, वनमा अनावश्यक विवाद गरेको भन्दै अध्यक्ष हेमनाथ पौडेलले राजिनामा पत्र नै च्यातिदिएका छन् । यसपछि वनको कार्यालयमा ताला लागेको छ । केही युवाले अब यो वन हामीले चलाउँछौँ भनेर कसैलाई प्रवेश गर्न नदिने बताएका छन् । आइतबार दिउँसो अवस्था असामान्य भएपछि सबै घरघर लागेका छन् । सदस्यहरूले राजिनामा दिएको नै हो भने चुनावमा जान आफैलाई कुनै संकोच नहुने अध्यक्ष पौडेलले  चेतावनी दिएका छन् । जसले जे गरे पनि आफूले बनको विकासको पक्षमा धेरै काम गरेको भन्दै राजिनामा नदिने र डटेरै सामना गर्ने बताएका छन् ।

बन अहिले रूख कटानको प्रकृयामा छ । सार्वजनिक सूचना जारी गरी टेन्डर मार्फत उपभोक्ता बाहिरका व्यक्ति रूख कटान गर्न तयार छन् र अब रूख कटान गरिहाल्नु पर्ने अवस्थामा अध्यक्ष पौडेल छन् । यही विषयलाई लिएर कार्यसमितिका अधिकांश सदस्य र युवाले रूख कटानको कार्य आफूहरूले गर्न पाउनु पर्ने र त्यो स्थिति नभए रूख कटान गर्न नदिने चेतावनी दिएको स्थिति छ । टेन्डर मार्फत आएको फर्मले भने चाँडो रूख काट्न अनुमति मागेको छ । सम्भव भएसम्म आजभोलि रूख काट्ने तयारीमा उक्त फर्म छ ।

यो विषयमा अध्यक्षले पटकपटक कार्यसमितिका सदस्य र युवालाई सम्झाउने प्रयास गरे तर नमाने पछि उनले उपभोक्तालाई आइतबार वनको कार्यालयमा बोलाएर यस विषयको जानकारी दिए । त्यही क्रममा लफडा भएको हो ।

अध्यक्ष पौडेलले आइतबार टेन्डरमार्फत कम लागतमा रूख कटान हुने र त्यसरी बचेको पैसा वन समुहको विकासकै लागि खर्च गरिने भएको उपभोक्तालाई जानकारी दिन प्रयास गरेको बताए । वनको नियम अनुसार गरिएको टेन्डर प्रकृया नबुझेर विवाद गर्न खोज्ने र उपभोक्तालाई उक्साउने कार्यमा अरु जिम्मेवार पदाधिकारी र सदस्य लागेपछि स्थिति उग्र बनेको अध्यक्ष पौडेलको दावी छ ।

आफूले वनको नियम र प्रकृया अनुसार टेन्डर गरेको, नियम नमिचेको र हरेक निर्णय गर्दा कार्यसमितिसँग सल्लाह गरेर गरेको अध्यक्ष पौडेलले दावी छ ।

डिभिजन वन कार्यालयले स्थानीयलाई कटानको जिम्मेवारी दिन अनुमति दिए अझै पनि आफू युवा विरुद्ध जान नसक्ने बताउँदै वनको नियमले नदिए आफूले केही गर्न नसक्ने पौडेलको भनाई छ ।

रूख कटान जोखिमपूर्ण भएको र युवालाई पनि त्यति फाइदा नहुने ठम्याएपछि टेन्डर प्रकृयामा गएकोले नराम्रो नमान्न आग्रह गर्दै अध्यक्ष पौडेलले अरु कार्यक्रममा युवालाई समेट्ने बताए ।

यो समस्या युवाको नभएर राजनैतिक हस्तक्षेपका कारण भएको पौडेल बताउँछन् । आफू विकासशील र उपभोक्ताको रोजाइएको व्यक्ति भएकै कारण अध्यक्षमा विजयी भएको बताउँदै वडा अध्यक्ष, स्थानीय एमालेका नेता कार्यकर्ताले कार्यसमितिका सदस्य र उपभोक्तालाई उक्साउँदै यस्तो घटना भएको उनको भनाई छ । आफू अल्पमतमा भएपछि सुरुदेखि नै दुख दिन खोजेको, निर्णय विवादित बनाउन खोजेर समस्यामा पार्न खोजेको उनले बताए ।

आफ्नो नेतृत्वको एक वर्षमा धेरै विकासका काम भएको उनले बताए । अघिल्लो कार्यसमितिमा एमालेका धेरै व्यक्ति रहेका कारण भ्रष्टाचार र बेथिति सहेर बसेको भन्दै कार्यसमितिका केही प्रायोजित ब्यक्तिले आफूले विकास गर्न खोजेपछि प्रतिशोध साँधेर असफल बनाउन बिभिन्न हर्कत गरिरहेको उनको आरोप छ । कुनै पार्टी र नेताको पछि नलागेर विकासको पछि लाग्न कार्यसमितिका सदस्य र उपभोक्तालाई उनले आग्रह गरे ।

यता कार्यसमितिका पदाधिकारी र अरु सदस्यले भने अध्यक्षले एकलौटी गरेको बताए । टेन्डर दिँदा होओस् वा कुलो सार्ने विषय अथवा अरु कुनै पनि निर्णय लिँदा कार्यसमितिसँग सल्लाह नगरीकन गर्ने गरेका कारण यस्तो स्थिति सिर्जना भएको वनका सहसचिव डासुराम बेलबासेले  बताए । अध्यक्षको हरेक क्रियाकलाप एकलौटी र पेलेर लैजाने खालका रहेको उनी बताउँछन् ।

रूख कटान दिने र कार्यालयको पश्चिमतिर रहेको कुलो सार्ने विषयको निर्णयमा पनि अध्यक्षको आफूखुसी रहेको उनको भनाई छ । कार्यसमितिमा रहेर आफूहरूको कुनै अस्तित्व नरहेपछि सबै जनाले राजिनामा दिने निर्णय गरेको उनको जिकिर छ । आफूहरूको राजिनामा पत्र च्यातेर अध्यक्षले दादागिरी देखाएको सदस्यहरू बताउँछन् । आफूहरूको पत्र च्यातेपछि अवस्था थप बिग्रेको उनले बताए ।

यही कारण केही महिला उपभोक्ताहरू घचटा घचटमा लागेको उनले बताए । अध्यक्षकी श्रीमतीलाई हात हालेको नभई एउटा कागज खोस्न खोज्दा त्यस्तो भएको बेलबासेले बताए ।

यता अध्यक्षले पौडेलले आफूमाथिका झुटा कुरा नपत्याउन आग्रह गर्दै यो कार्य आफ्नो दादागिरीबाट प्रेरित नभएको बताए । आफूले विकास गरेको देखेपछि देख्न नसकेर केही प्रायोजित तत्त्वले असफल बनाउन अनावश्यक बखेडा झिकेको उनी बताउँछन् ।

वनका अरु उपभोक्ताले पहिलोपटक बनमा यस्तो चर्तिकला भएको भन्दै आफूहरूलाई बदनाम नगराउन आग्रह गरेका छन् । यो विषयमा कोही चोखो नरहेको बताउँदै ती उपभोक्ताले अध्यक्ष लगायत सबै दोषी रहेको बताए । एक जना पुरानो उपभोक्ता भन्छन् यो कार्यले गाउँ समाजमा परेको असरको जिम्मा वर्तमान कार्यसमितिले लिनुपर्छ । अध्यक्ष, पदाधिकारी र सदस्यले उपभोक्तामाझ नराम्रो भयो भनेर माफी माग्नुपर्ने उनीहरूको भनाई छ ।

अब यो समस्या कसरी समाधान हुन्छ त्यो भने थाहा छैन । यो विषय डिभिजन वन कार्यालय, वड र नगरपालिकासम्म पुगेको छ । कतिपयले यो विषय मुद्धा मामिलातर्फ जान सक्ने बताउँछन् । अध्यक्ष पौडेलले भने सकेसम्म सल्लाह गरेर सल्टाउने र हदै भए नियमअनुसार जे हुन्छ त्यो विधिमा जाने बताए । १० जनाको राजिनामाको विषय हतारको निर्णय भएकाले सबै मिलेर जाने कुरामा विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्