कपिलवस्तु तिलौराकोट गोल्डकपः दर्शकलाई प्याराफिटको ब्यवस्था, टिकट अनिवार्य


पालिका पत्र

१५ चैत्र २०८०, बिहीबार १८:२७ मा प्रकाशित

कपिलवस्तु, चैत्र १५ । चैत्र १७ गतेदेखि कपिलवस्तुमा आयोजना हुन लागेको प्रथम तिलौराकोट गोल्डकपलाई दर्शकले प्याराफिटमा बसेर हेर्न पाउने भएका छन् । यसको लागि बुद्ध रंगशालाको पूर्व र पश्चिम भागमा प्याराफिट निर्माण गरिएको छ । रंगशालाभित्र प्याराफिटमा पनि सबैको स्थान तोकिने आयोजक कपिलवस्तु फुटवल संघका अध्यक्ष तिलक थापाले बताए ।

तर यसको लागि भने दर्शकले टिकट काट्नु पर्ने हुन्छ । थापाका अनुसार खेल हेर्न ४ प्रकारका टिकटको ब्यवस्था गरिएको छ । प्रतियोगितामा हुने सुरुका नकआउट चार खेलको लागि २ सय, सेमिफाइनल खेलको लागि ३ सय र फाइनलको लागि ४ सय रुपैयाँको टिकटको प्रबन्ध गरिएको छ । यस्तै १५ सयको एउटा प्याकेजिङ टिकट छ । प्रतियोगितालाई सहयोगस्वरुप त्यो टिकट काटेर सबै खेलहरु हेर्न सकिने थापाले बताए ।

प्रतियोगितामा राष्ट्रिय र अन्र्तराष्ट्रिय खेलाडी आउने भएकाले टिकटको रकम खेर नजाने र दर्शकले भरपुर मनोरञ्जन लिने थापाले बताए । करिब १ करोड २० लाखच र्ख हुने अनुमान गरिएको यो प्रतियोगिताले कपिलवस्तुको पर्यटन प्रवद्धन हुने आयोजकको विश्वास छ ।

प्रतियोगितामा ए डिभिजनका मछिन्द्र, थ्रीस्टार, नेपाल पुलिस र त्रिभुवन आर्मी र मोफसलबाहिरका कपिलवस्तु ११ सहितका ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ र उप विजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । यो प्रतियोगिता लुम्बिनी प्रदेशकै सबैभन्दा धेरै धनराशी भएको प्रतियोगिता रहेको संघको दावी छ ।

प्रतिक्रिया दिनुहोस्