तिलौराकोट गोल्डकपः कपिलवस्तु ११ लाई पराजित गर्दै थ्री स्टार सेमिफाइनलमा प्रवेश


पालिका पत्र

१७ चैत्र २०८०, शनिबार १९:३८ मा प्रकाशित

बाणगङ्गा, चैत्र १७ । प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगितामा थ्री स्टार क्लबले आयोजक कपिलवस्तु ११ लाई पराजित गरेको छ ।  प्रतियोगिताको उद्घाटन खेलमा थ्री स्टार क्लबले कपिलवस्तु ११ लाई हराउँदै ३ – ० गोल अन्तरले पराजित गरेको हो । यससँगै कपिलवस्तु ११ प्रतियोगिताबाट बाहिरिएको छ भने थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

 थ्री स्टारलाई ३१ औं मिनेटमा निरज चौधरीले हेड मार्फत गोल गर्दै अग्रता दिलाएका थिए । पुनः ३ मिनेटको अन्तरमा दिपेश घलेले एक गोल थपेका थिए । पहिलो हाफमा २– ० गोल अन्तरले अग्रता बनाएको थ्री स्टारले दोस्रो हाफ पुनः निरज चौधरीको गोलमार्फत एक गोल थप्न सफल भयो । निरज चौधरी ‘म्यान अफ द म्याच’ घोषित भए ।

आइतबार मछिन्द्र एफसी र हनामी बीएफसी चितवनबीच खेल हुने प्रतियोगिताको आयोजक संस्था जिल्ला फुटबल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले जानकारी दिए । प्रतियोगिताको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गरेका हुन् । प्रतियोगिताको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १११ र दोस्रो हुनेले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्