प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको उपाधि हनामी बिएफसी चितवनलाई


पालिका पत्र

२४ चैत्र २०८०, शनिबार २०:३९ मा प्रकाशित


बाणगङ्गा, चैत्र २४ । 
प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको उपाधि हनामी बिएफसी चितवनले जितेको छ ।  बाणगंगाको बुद्ध रङ्गशालामा शनिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई टाई ब्रेकरमा हराउँदै हनामीले उपाधि जितेको हो  । हनामीले पुलिसलाई टाई ब्रेकरमा ४ – ३ गोल अन्तरले हराउँदै हनामीले उपाधि जितेको हो ।


सुजित बुढाथोकीले खेलको ११ औं मिनेटमा गोल गर्दै हनामीलाई अग्रता दिलाएका थिए । पुलिसका अनुप लिम्बुले ४५ औं मिनेटमा गोल गरेर आफ्नो टोलीलाई खेलमा फर्काए । त्यसपछि खेलमा कुनै पनि टोलीलाई गोल थप्न नसक्दा खेलको परिणाम टाई ब्रेकरबाट टुङ्गो लाग्यो । टाई ब्रेकरमा हनामीका लागी राम शाही, सुजित बुढाथोकी, आशिस सुनाम र सागर लामाले गोल गरे भने मनिष तामाङले गोल गर्न सकेनन् । पुलिसका लागी अनुप लिम्बु, विवेक पाण्डे र शिशिर चौधरीले गोल गरे भने पृथ्वी चौधरी र हेम तामाङले गोल गर्न सकेनन् ।


विजेता हनामी बिएफसीले रु ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता नेपाल पुलिस क्लवले ५ लाख ५५ हजार ५ सय ५५ हजार संगै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । यो लुम्बिनी प्रदेशकै सर्वाधिक राशीको पुरस्कार हो ।


यस्तै विधागत तर्फ हनामी बिएफसीका भविन्द्र मल्लले बेस्ट गोल किपर, हनामी बिएफसी कै अमृत श्रेष्ठले बेस्ट डिफेन्डर, ध्रुब भुसाल बेस्ट कोच तथा सुजित बुढाथोकीले ‘प्लेयर अफ द टुर्नामेन्ट’को उपाधि उचालेका छन् । यता उप विजेता बनेको नेपाल पुलिस क्लवका पृथ्वी चौधरीले बेस्ट मिडफिल्ड तथा विवेक पाण्डेले बेस्ट फरवार्डको उपाधि जितेका छन् । 


प्रतियोगितामा उत्कृष्ट खेलेका ‘प्लेयर अफ द टुर्नामेन्ट’ सुजित बुढाथोकीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ । चैत्र १७ गतेदेखि सुरु भएको तिलौराकोट गोल्डकप चैत्र २४ गते सम्पन्न भएको छ । 


सेमिफाइनलमा ए डिभिजन क्लव थ्रीस्टारलाई हराएर नेपाल पुलिस क्लव फाईनमा पुगेको थियो । यस्तै सुदुरपश्चिम ११ लाई हराएर हनामि विएफसी अर्को पोलबाट फाईनमा पुगेको थियो । 

विजेता र उपविजेता टोलीलाई पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य सुरेन्द्र राज आचार्य, बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्याल, एन्फाका उपाध्यक्ष दीर्घ बहादुर केसी, आयोजक कपिलवस्तु फुटवल संघका अध्यक्ष तिलक थापा लगायतले पुरस्कार वितरण गरेका थिए । चैत्र १७ गतेदेखि खेल सुरु भएको गोल्डकपमा ए डिभिजनका ४ र मोफसलका ४ गरी ८ टिमले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्