हात्तिपाइले विरुद्ध कपिलवस्तु : १६ औं पटकको अभियान बैशाख १६ देखि


३० चैत्र २०८०, शुक्रबार ०९:०४ मा प्रकाशित

चैत्र ३० गते । कपिलवस्तुमा हात्तिपाइले बिरुद्धको औषधि खुवाउने अभियान अन्र्तगत १६ औं पटक संचालन गरिने भएको छ । सरकारले नै कपिलवस्तु सहित सातवटा जिल्लामा हात्तिपाइले बिरुद्धको औषधि खुवाउने कार्यक्रम संचालन गर्ने तयारी गरेको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वाथ्य अधिकृत राम कुमार महतोका अनुसार हात्तिपाइले रोग निवारणका लागि जोखिम समूहमा रहेका कपिलवस्तु सहित सात जिल्लामा औषधि खुवाउने कार्यक्रम सञ्चालन हुन लागेको हो ।

हात्तिपाइले रोग विरुद्ध प्रयोग भइरहेका औषधिहरु डाइथाइलकार्बामाजिन १०० एमजी र ४०० एमजीको अल्बेन्डाजोल औषधि खुवाइने महतोले बताए । जनस्वास्थ्य अधिकृत महतोका अनुसार कपिलवस्तु, रसुवा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र झापा जिल्लामा आम औषधि सेवन कार्यक्रम चल्ने छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले तौलिहवामा राखेको अन्र्तक्रिया कार्यक्रममा उनले यी जिल्लामा यो वर्ष औषधि खुवाइसकेपछि पुनः अध्ययन हुने र उक्त अध्ययनमा सकारात्मक नतिजा देखिए औषधि खुवाउने कार्यक्रम यसपटकको नै अन्तिम हुने उनले जानकारी दिए ।
’यो पटकको औषधि वितरण कार्यक्रम नै अन्तिम हुने गरी हामीले काम अगाडि बढाएका छौं,’ उनले भने, ’त्यसकारण यो अभियानलाई सफल बनाउन हामी सबैसँग आग्रह गर्दछौं । यो पटकको आम औषधि वितरण कार्यक्रम सम्पन्न भएपछि हामीले सर्भे गर्नेछौं । उक्त सर्भेमा हात्तिपाइले निवारणको सकारात्मक नतिजा आए अर्को पटकबाट औषधि वितरण कार्यक्रम नै गर्नुपर्दैन ।’

नेपालमा विगतमा ६० जिल्लामा हात्तिपाइले रोगको जोखिम थियो । सरकारले सन् २००३ देखि आम औषधि वितरण कार्यक्रम सुरु गरेसँगै जोखिम कम हुँदै गएको हो । ५३ वटा जिल्लामा औषधि वितरण कार्यक्रम बन्द भइसकेको छ ।

नेपालले सन् २०२० मा नै हात्तिपाइले निवारण गरिसक्ने लक्ष्य लिएको थियो । तर लक्ष्य अनुसार उपलब्धि हासिल हुन नसकेपछि सन् २०३० भित्र निवारण गर्ने भनेर नयाँ लक्ष्य लिइएको छ । तर उक्त अवधिभन्दा अगाडि नै नेपालबाट हात्तिपाइले निवारण हुने अनुमान गरिएको छ ।

हात्तिपाइले निवारण हुनका लागि राष्ट्रिय र जिल्ला स्तरमा माइक्रोफाइलेरियाको दर १ प्रतिशत भन्दा कम वा एन्टीजेनेमियाको दर २ प्रतिशत भन्दा कम हुनुपर्छ । हात्तिपाइले रोग विरुद्धको औषधि दुई वर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घकालीन रोगी, एक हप्ता नपुगेका सुत्केरी र खाली पेटमा सेवन गर्न हुँदैन ।

जिल्लाका सबै पालिकामा सबैपक्षको सहकार्यमा अभियानले अन्तिम नतिजान्मुख रहने गरि अभियान संचालन गरिने स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख नारायण प्रसाद चौधरीले बताए ।

वैशाखमा सात वटा जिल्लाका ५० लाख ७८ हजार जनालाई औषधि खुवाउने लक्ष्य लिइएको छ । यसका लागि ६ हजार स्वास्थ्यकर्मी र ५ हजार ८ सय स्वंसेविका परिचालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्