बिजोक अवस्थामा जिल्ला खेलकुद विकास समिति कपिलवस्तुको भवन


पालिका पत्र

२ बैशाख २०८१, आईतवार २०:२० मा प्रकाशित

वैशाख, ०२। 
जिल्ला खेलकुद विकास समिति कपिलवस्तुको भवन बनेको ५ वर्ष मात्रै भयो तर संरक्षण नहुदाँ भताभुङ्ग अवस्थामा छ । न त्यहाँ कोही कर्मचारी बस्छन्, न त सरसफाइ नै गरिएको छ । भवन संरक्षणमा जिल्ला खेलकुद विकास समिति र सम्बन्धित वडा कार्यालय निरिह देखिएका छन् । भवनको माथिल्लो तलामा जाने बुर्चाको भागको एक तर्फको टिन कसले कहाँ लग्यो थाहा छैन । यस्तै झ्यालका फ्रेम पनि त्यहाँ छैनन् । भवनको च्यानल गेट लगाइएको छ, अन्य झ्याल र ढोकाहरू खुला  छन् । बाणगङ्गा वडा न. ८ मा पर्ने मायादेवी रङ्गशाला र वडा कार्यालयको दूरी त्यति टाढा छैन तैपनि त्यस प्रति कसैको चासो गएको देखिदैन । यो भवन मायादेवी रङ्गशालामा राष्ट्रिय खेलकुद परिषदको रु २० लाख लागतमा बनेको हो । यस्तै ५ लाखको लागतमा त्यहाँ तारजाली पनि गरिएको छ ।


२०७६ साल माघ १९ गते यो भवन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल र निवर्तमान वडा अध्यक्ष गुणनिधि भुसालले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका हुन् । त्यतिबेला जिल्ला खेलकुद विकास समितिको अध्यक्ष हालका वडा न. ४ का वडा अध्यक्ष छविलाल रेश्मी मगर थिए । भवन निर्माण भएदेखि राष्ट्रिय खेलकुद परिषद्ले कार्यालय नियमित सञ्चालनका लागि भन्दै विना दाहाललाई कार्यालय सहयोगी खटाएको थियो । त्यो भवनमा उनी कुनै दिन पनि उपस्थित नभएको कार्यालय प्रमुख मीन प्रसाद पोख्रेलले बताए ।  कार्यालयको चाबी पनि उनै दाहालले लगेर गएको पोख्रेलले बताए । न त्यहाँ कार्यालय प्रमुख छन्, न कुनै सहयोगी । अझै भ्याल ढोकाबाट भित्र हेर्नेहो भने त बिजोक नै छ ।


मिति २०७९ असार २४ गते हालका अध्यक्ष राजेश कुमार उपाध्यायको नेतृत्वमा नयाँ कार्य समिति निर्माण भयो । उपाध्यायलाई शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालय लुम्बिनी प्रदेशले अध्यक्षमा मनोनित गरेको थियो । उनको कार्यसमिति कुनै पनि दिन त्यो कार्यालयमा उपस्थिति भएन । कार्यालयको अवस्था पनि बुझ्न खोजेन । उनी अध्यक्ष भएदेखि जिल्लामा खेलकुद त्यस्ता राम्रा काम केही भएका छैनन् । बरु उल्टै यस्ता लाखौ खर्चेर बनाएका भवन भताभुङ्ग छन् । 


यस्तै कार्यालय प्रमुख मीन प्रसाद पोख्रेलले पछिल्लो समयमा राष्ट्रिय खेलकुद परिषद्ले पठाउने रकम सामाजिक डिभिजन कार्यालय तौलिहवाले जिल्ला खेलकुद विकास समिति सँग कुनै समन्वय नगरी आफूखुसी प्रयोग गरेको आरोप लगाए । उनले मायादेवी रङ्गशालामा हाल निर्माण भएको बाउन्ड्री वाल मापदण्ड विपरित भएको बताए । उनले भने ”खेलकुद मैदानमा कहिँ पनि वाल हुँदैन एयरपोर्ट जाली लगाउनु पर्छ।”  जिल्लामा खेलकुदका अनेकौं संघ संस्था छन् तर कसैले पनि यता तर्फ चासो दिदैनन् । 

प्रतिक्रिया दिनुहोस्