विपद् व्यवस्थापनमा शुद्धोधन : सुरक्षा निकायलाई दिइयो विपद् व्यवस्थापन सामग्री


१३ बैशाख २०८१, बिहीबार १५:३८ मा प्रकाशित

बैशाख १३ गते । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले सुरक्षा निकायलाई विपद् व्यवस्थापन सम्बन्धी सामग्री सहयोग गरेको छ । पालिकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई विपद्को समयमा प्रयोग हुने सामग्री हस्तान्तरण गरेको हो ।

गाउँपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी, उपाध्यक्ष होमप्रकाश चौधरी, र प्रमुख प्रशासकीय अधिकृत धनिश्वर पौडेलले बिहिबार सो सामग्री हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएका सामग्रीहरुमा बेल्चा, सेफ्टी उपकरण, फायर बुट्स, बाकस, बाल्टी, फायर एक्स्टिङगुइसर, फायर हेल्मेट, बुट, टर्च, मास्क, सेफ्टी ग्लास, फायर व्लांकेट, त्रिपाल लगायतका २७ प्रकारका सामग्री रहेका छन् ।

सामग्री हस्तान्तरण गर्दै अध्यक्ष कमलेश शरण चौधरीले सम्भावित विपद्लाई रोक्न नसकेपनि विपद्बाट हुने क्षती न्यूनीकरणका लागि सम्भव सबै उपाय अपनाउन गाउँपालिका सदैव तयार रहने बताए । उनले पालिकाले हस्तान्तरण गरेका सामग्री शुद्धोधनमा मात्र नभई जिल्लाका अन्य पालिकामा हुने विपद्का घटनाको न्यूनिकरणमा समेत उपयोग हुने र त्यसले क्षती न्यूनिकरणमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले भविष्यमा आवश्यक सामग्री उपलब्ध गराउँदैं जाने प्रतिवद्धता समेत प्रकट गरेका छन् ।

नगर उपप्रमुख होमप्रकाश चौधरीले विपदका घटनामा खोज तथा उद्धारका लागि सबैभन्दा पहिले सुरक्षा निकाय पुग्ने भएकाले यी सामग्री हस्तान्तरण गरिएको बताए । हस्तान्तरण गरिएका सामग्रीबाट सम्भावित विपद्को व्यवस्थापन गर्न मद्दत मिल्ने उनले बिश्वास व्यक्त गरेका छन् ।

पालिकाले प्रहरी चौकी हथिहवा, प्रहरी चौकी लवनी, प्रहरी चौकी बग्दी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हथिहवालाई विपद्को बेला आवश्यक पर्ने विभिन्न सामग्री हस्तान्तरण गरिएको अध्यक्ष चौधरीले बताए ।

विपत्तीमा सर्वप्रथम सुरक्षा निकायको नै उपस्थिती रहने हुँदा उहाँहरुलाई मध्यनजर गर्दैै पालिकाले विपद् ब्यवस्थापनका सामग्रीको उपलब्धता गराएको प्रमुख प्रशासकीय अधिृकत पौडेलले बताए ।

खोज तथा उद्धार सामग्री बुझ्दै सुरक्षा निकायका प्रतिनिधिले दक्ष जनशक्तिसँगै आवश्यक उपकरण भए मात्र विपदका बेला खोज तथा उद्धारको कार्य सहज हुने र विपद्का घटनाबाट हुने क्षती न्यूनिकरण गर्न सकिने बताएका छन् । गर्मीयाम सुरुवात संगै सम्भाबित विपतको सामना गर्न यी सामाग्रीहरू आवश्यक पर्ने सुरक्षा निकायका पदाधिकारीहरूले बताए ।

प्रतिक्रिया दिनुहोस्