कपिलवस्तुको भारतीय सीमानाका ४८ घण्टाका लागि बन्द


१० जेष्ठ २०८१, बिहीबार ०९:०९ मा प्रकाशित

कपिलवस्तु, जेठ १० गते । भारतसँग सिमाना जोडिएका कपिलवस्तुका नाका बन्द भएका छन् । उत्तर प्रदेश राज्यको सिद्धार्थनगर जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन्द गरिएको हो ।

कृष्णनगर र सुठौली भन्सार सहितका कपिलवस्तु जिल्लाका सीमानाका आज बिहिबार बिहान ६ बजेदेखि बन्द भएका कपिलवस्तुका निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताए । जेठ १२ गते बेलुका ६ बजेसम्म नेपाल– भारत सीमानाका बन्द हुने उनले जानकारी दिए ।

‘दुई मुलुकमध्ये कुनै एकमा निर्वाचनमा हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने प्रचलन अनुसार नै नाका बन्द भएको हो‘, घिमिरेले भने । कपिलवस्तुको ९३ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ।

यसैबीच, भारतमा लोकसभा निर्वाचनको सुरक्षा अवस्थालाई लिएर कपिलवस्तुका विभिन्न नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा उच्च सतर्कता अपनाइएको छ ।

नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा सुरक्षा अवस्था निकै कडा बनाइएको हो । कपिलवस्तुका कृष्णनगर, मर्यादपुर, चाकडचौडा, महाराजगञ्ज लगायतका नाकालाई सुरक्षा दृष्टिकोणले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

विशेष गरी भारतबाट नेपाल प्रवेश गर्ने सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा चेकजाँच कडा बनाइएको छ । लोकसभा चुनाव २०२४ सात चरणमा सञ्चालन भइरहेको छ। पहिलो चरण १९ अप्रिल र अन्तिम चरण १ जुन २०२४ मा सम्पन्न हुनेछ । लोकसभा चुनाव २०२४ को नतिजा ४ जुन २०२४ मा आउनेछ ।

भारतको उत्तर प्रदेशमा मे २५ अर्थात् जेठ १२ गते निर्वाचन हुँदैछ । मे २५ मा हुने छैठौं चरणको लोकसभा चुनावबाट ५७ सिट प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्