शिवराज नगरपालिकामा प्रदेशकै कम बेरुजु 


पालिका पत्र

२८ जेष्ठ २०८१, सोमबार ०८:१८ मा प्रकाशित


 चन्द्रौटा ।
लुम्बिनी प्रदेशकै सबैभन्दा कम बेरुजु शिवराज नगरपालिका रहेको पाइएको छ । प्रदेशका सबै स्थानीय तहहरूमा भन्दाकम शून्य दशमलब ३३ प्रतिशत बेरुजु रहेको महालेखा परीक्षणको प्रतिवेदनमा उल्लेख छ । नगरप्रमुख अजय थापाले आफूले सुशासनलाई मुख्य प्राथमिकता दिएर योजना कार्यान्वयन र बजेट खर्च गर्ने परिपाटी बसालेको दावी गरे ।


भ्रष्टाचार र आर्थिक अनियमिततामा शून्य सहनशीलताको सिद्धान्त अनुसार अघि बढेर विधि प्रक्रियासम्मत बजेट खर्च गरेकाले बेरुजु कम हुन गएको र आगामी दिनमा बेरुजुलाई शुन्य बनाउने लक्ष्य रहेको थापाको भनाइ छ  । कपिलवस्तुका स्थानीय तहमा आर्थिक वर्ष २०७९ / ०८० मा ३१ करोड ९४ लाख १३ हजार रुपैयाँ बेरुजु देखिएको हो । जिल्लाका १० वटा स्थानीय तहको १९ अर्ब ५० करोड ६७ लाख ६७ हजार रुपैयाँ लेखापरीक्षण भएको प्रतिवेदनमा उल्लेख गरिएको छ  ।


कपिलवस्तुमा ६ नगरपालिका र  ४ वटा  गाउँपालिका रहेको कपिलवस्तुमा प्रतिशतको आधारमा आव २०७९ / ०८० मा विजयनगर गाउँपालिकामा सबैभन्दा बढी र शिवराज नगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । विजयनगरमा ३ दशमलव ०३ र शिवराजमा शून्य दशमलब ३३ प्रतिशत बेरुजु छ । जिल्लामा कम बेरुजु आएको शिवराज नगरपालिकाको २ अर्ब ३१ करोड ८७ लाख ३९ हजार लेखापरीक्षण गर्दा ७६ लाख ५६ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्