चन्द्रकान्त न्यौपाने
बाणगङ्गा, असार ०३ । १५ औं नगरसभा मार्फत् बाणगङ्गा नगरपालिकाको आर्थिक वर्ष २०८१ / ८२ को नीति, कार्यक्रम तथा बजेट पारित भएको छ । नगरपालिकाको सभाहलमा बुधबार भएको पहिलो अधिवेशनले जनतामा खुसियाली छर्ने अभिप्रायको नीति कार्यक्रम र बजेटलाई पारित गरेको हो ।
नगरप्रमुख चक्रपाणी अर्यालले विकासात्मक तथा अन्तर निकाय समन्वय गतिविधिहरूलाई नीति विधि र प्रविधिमा समेटेर नीति कार्यक्रम पेश गरेका थिए । नगरप्रमुख अर्यालले पेश गरेको नीति कार्यक्रममा जनतामा खुसियाली छर्न ‘ब्रान्ड बाणगङ्गा, विलिभ बाणगङ्गा’ अभियान सञ्चालन गर्ने मुख्य नीति समेटिएको छ ।
जनतामा खुसियाली अभिवृद्धि गर्ने भन्दै पहिलोपटक ‘ब्रान्ड बाणगङ्गा विलिभ बाणगङ्गा’ अभियान सञ्चालन गर्न लागिएको नगर प्रमुख अर्यालले जानकारी गराए । उनका अनुसार त्यहि अभियान सफल बनाउने गरी आर्थिक वर्ष २०८१ / ८२ को कुल १ अरब ६२ करोड ४६ लाख ८६ हजारको अनुमानित बजेट आउने जनाइएको छ । १५ औ नगर सभाको दोस्रो बैठक आगामी आषाढ १० गते बस्ने र सो बजेट सार्वजनिक गरिने सभाध्यक्ष अर्यालले जानकारी दिए ।
नीति कार्यक्रमको लक्ष्य सामाजिक विकास रहेको छ भने कृषि, पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ । कर दर नबढाउने, दायरा बढाउने लगायतका नीति बजेटले समेटेको बताइएको छ ।
अधिवेशनमा सभाका उपाध्यक्ष उपप्रमुख रिता कुमारी चौधरीले न्यायिक समितिको प्रतिवेदन सभा समक्ष प्रस्तुत गरेकी थिइन् भने लेखा समितिका संयोजक टेकबहादुर झेडी मगरले महालेखापरीक्षकको कार्यालयले आब २०७९ / ८० सम्मको अन्तिम लेखापरीक्षण हुँदा औँल्याइएको नियमित गर्नुपर्ने बेरुजु सम्परीक्षण गर्ने सम्बन्धको प्रतिवेदन समेत पेश गरेका थिए । सभाको सञ्चालन सभाका सचिव प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले गरेका थिए ।