मायादेवी साझेदारी वनले अतिक्रमित क्षेत्रमा रोप्यो १६ हजार बिरुवा


पालिका पत्र

१२ श्रावण २०८१, शनिबार १४:५३ मा प्रकाशित


वाणगङ्गा, १२ साउन । 
मायादेवी साझेदारी वन उपभोक्ता समितिले १६ हजार बिरुवा वृक्षरोपण गरेको छ । वनले बाणगङ्गा नगरपालिका– ११ बरवा क्षेत्रमा रहेको खाली १२ हेक्टर क्षेत्रफलमा टिक प्रजातिका बिरुवा रोपेको वनका अध्यक्ष दिनेश जैसवालले जानकारी दिए ।
उनले स्थानीय उपभोक्तामार्फत वृक्षरोपण भएको बताउँदै भने, ‘ बरवा क्षेत्रमा भएको अतिक्रमित जमिनलाई वनले पहिले नै हटाएर सिमा निर्धारण गरेर तारबार गरेको थियो । सोही क्षेत्रमा वृक्षरोपण गरिएको हो ।’ उनले विभिन्न प्रजातिका बिरुवाहरू वृक्षरोपण गरिएको बताए । वनले यसरी लगाएको बिरुवाको संरक्षण, सम्बद्र्धन गर्ने जिम्मेवारी यस क्षेत्रका व्यक्तिहरूले मुख्य रुपमा निर्वाह गर्नुपर्ने अध्यक्ष जैसवालको भनाई छ ।


वन अमूल्य सम्पदा भएकाले यसको संरक्षण सबैको सरोकारको विषय भएको उनले बताए । वनले वन संरक्षण, व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेर काम गरेको उनले दाबी गरे । उनले मायादेवी साझेदारी वनलाई प्रदेशकै उत्कृष्ट साझेदारी वनको रुपमा स्थापित गर्ने गरि आफुहरू खटिएको बताए ।


पछिल्ला वर्षहरूमा मायादेवी साझेदारी वनले जिल्ला डिभिजन कार्यालयसँग मिलेर वन अतिक्रमणलाई रोक्न प्रभावकारी कदम चाल्दै आएको छ । वनले पटना क्षेत्रमा गत बर्ष र यो बर्ष पनि वन अतिक्रमण हटाएको छ । जसलाई वन सम्बद्ध जानकारहरूले चौतर्फी रुपमा प्रशंसा गर्दै आएका छन् ।
 

प्रतिक्रिया दिनुहोस्