कपिलवस्तुमा हावाहुरीले विद्युत सेवा ठप्प, ३१ पोल र १६ ट्रान्सफर्मर क्षतिग्रस्त !


४ भाद्र २०८१, मंगलवार १५:०६ मा प्रकाशित

तस्बिरहरु नेपाल बिद्युत प्राधिकरण तौलिहवाको फेसबुकबाट

कपिलवस्तु, भाद्र ४ – कपिलवस्तुमा विद्युत सेवा अवरुद्ध भएको छ। सोमबार राति आएको भीषण हावाहुरी र वर्षाका कारण विद्युतका पोल र ट्रान्सफर्मरहरू ढलेर क्षतिग्रस्त भएका छन् ।

नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रका अनुसार, जिल्लामा ३१ वटा पोल र १६ वटा ट्रान्सफर्मरमा क्षति पुगेको छ। यशोधरा गाउँपालिकामा १३ वटा एचटि लाइनको पोल, कपिलवस्तु नगरपालिकामा १६ वटा एलटि लाइनको पोल र बाणगंगा नगरपालिकामा २ वटा एलटि लाइनको पोल भाँचिएका छन् ।

विद्युत प्राधिकरणका प्रमुख गौरव पाण्डेले भने, “हामीले प्राविधिकहरूको टोली र ठेकेदारलाई क्रेनसहित परिचालन गरेर मर्मत कार्य सुरु गरेका छौं। तर, पूर्ण रूपमा विद्युत सेवा सञ्चालन हुन अझै केही दिन लाग्न सक्छ ।”

कृष्णनगर र रंगपुर फिडर अन्तर्गतका धेरै ट्रान्सफर्मरहरू बन्द भएका छन् । कृष्णनगर फिडरमा १०० केभिए का ३ वटा र ५० केभिए का ३ वटा ट्रान्सफर्मर बन्द छन् । त्यस्तै, रंगपुर फिडरमा २०० केभिए को १ वटा, १०० केभिए का ४ वटा र ५० केभिए का ५ वटा ट्रान्सफर्मर बन्द छन् ।

अत्यधिक वर्षाका कारण चार नम्बर बैरिया क्षेत्रमा डुबान भएकोले पिपरा फिडर अन्तर्गतका सितलपाटि, जेसिसचोक, गजेहडाकुला र बैरियाका ट्रान्सफर्मरहरू पनि बन्द गरिएका छन् । प्राधिकरणले क्षतिको खोजी र मर्मत कार्य जारी राखेको छ। विशेषगरी कृष्णनगर र रंगपुर फिडर अन्तर्गतका क्षेत्रहरूमा लाइन सुधार गर्न थप समय लाग्ने देखिएको छ।

यो विद्युत अवरोधले स्थानीय जनजीवनमा ठूलो असर पारेको छ। प्राधिकरणले यथाशीघ्र सेवा पुनः सञ्चालन गर्न प्रयास गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्