शुद्धोधन गाउँपालिकाद्वारा ५३ करोड ८६ लाखको बजेट प्रस्तुत


पालिका पत्र

४ आश्विन २०८१, शुक्रबार २०:११ मा प्रकाशित

बाणगंगा, असोज ०४ ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि ५३ करोड ८६ लाख ८५ हजार २९० रुपैयाँको बजेट प्रस्तुत गरेको छ। लबनी स्वास्थ्य चौकीको हलमा आयोजित नवौँ गाउँसभामा गाउँपालिका उपप्रमुख होरीराम चौधरीले सो बजेट प्रस्तुत गरेका हुन्। बजेट बहुमतले पास भएको छ, तर यो बजेट आर्थिक वर्ष २०८०/८१ को तुलनामा ३ करोडले कम आएको छ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० भित्र नीति तथा कार्यक्रम र बजेट ल्याइनु पर्ने भए पनि गाउँपालिकाले यस वर्ष ३ महिना ढिलो गरी बजेट प्रस्तुत गरेको हो।

बजेटमा आर्थिक विकासतर्फ ५ करोड ४० लाख १० हजार, सामाजिक विकासतर्फ २६ करोड ४१ लाख ३७ हजार, पूर्वाधार विकासतर्फ १० करोड ३१ लाख ९५ हजार २९०, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १ करोड ४७ लाख ८७ हजार, र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ १० करोड २५ लाख ५६ हजार रुपैयाँ विनियोजित गरिएको छ।

सङ्घीय र प्रदेश सरकारबाट प्राप्त अनुदानमा आएको कमीले गर्दा चालु आर्थिक वर्षको बजेट ३ करोडले घटेको हो।

गाउँपालिका प्रमुख कमलेश शरण चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उप प्रमुखसहित ६ वडामा सम्मानजनक रूपमा बजेट विनियोजन गरिएको बताए। चालु वर्षमा आन्तरिक स्रोतबाट ३ करोड ७२ लाख ७६ हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको छ।

शिक्षा, कृषि, तथा पशुपालनलाई उच्च प्राथमिकतामा राख्दै कृषि व्यवसायिकरणतर्फ उन्मुख हुने योजना बजेटमा समावेश गरिएको छ। सामाजिक सुरक्षा, संरक्षण, र पूर्वाधार निर्माणतर्फ पनि विशेष ध्यान दिइएको छ। सिचाइँ र सडक मर्मतका लागि बजेट छुट्याइएको छ भने विपद् र प्राकृतिक प्रकोपबाट हुन सक्ने धनजनको क्षति रोक्न तथा राहत दिनसमेत बजेटमा व्यवस्था गरिएको छ।

कोभिड- १९ ले मुलुकभर आर्थिक मन्दी ल्याएको अवस्थामा काम गर्न चुनौती रहेको उल्लेख गर्दै गाउँपालिकालाई समृद्ध बनाउने उद्देश्यले सहमति, सहकार्य, एकता, र सामूहिक प्रतिवद्धतासहित अघि बढ्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेलले बताए।

लुम्बिनी प्रदेशमै सबैभन्दा ढिलो गरी बजेट ल्याउने गाउँपालिका शुद्धोधन बनेको छ। यस वर्ष पनि बजेटको कार्यान्वयन सबैभन्दा ठूलो चुनौतीका रूपमा देखा परेको छ। सभा प्रमुख चौधरीको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत पौडेलको आतिथ्यता, र ईश्वरी प्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न भएको हो।

आन्तरिक विवादका बाबजुद, गत आर्थिक वर्ष २०८०/८१ मा शुद्धोधन गाउँपालिकाले ८२.१९ प्रतिशत बजेट खर्च गर्न सफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्