कपिलवस्तु, असोज ०४। राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्राविधिक शिक्षा तर्फ नेपालका चार प्राविधिक शिक्षण संस्थाहरूलाई उत्कृष्टताको पुरस्कार प्रदान गरिएको छ। कपिलवस्तुको बाणगंगा–२ पिपरा स्थित जनता माध्यमिक विद्यालय, काभ्रेको नेपाल बनेपा बहुप्राविधिक शिक्षालय, दाङको तुलसीपुर पोलिटेक्निक इन्स्टिच्युट र काठमाडौंको नेपाल आर्मी कलेज अफ हेल्थ साइन्सले प्रत्येकले १ लाख रुपैयाँको पुरस्कार प्राप्त गरेका छन्।
शिक्षा मन्त्रालयका अनुसार, यी संस्थाहरूलाई २०८० सालको सिटिइभीटी परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा छनोट गरिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक संस्थाहरूलाई पुरस्कार प्रदान गरेका थिए।
जनता माध्यमिक विद्यालय कपिलवस्तुका प्राचार्य रमेश पन्थीले भने हाम्रो विद्यालयले राष्ट्रिय स्तरमा ध्वजा फहराउँदै एक लाख रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको छ। यो हाम्रो लागि ठूलो सम्मान हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद पाण्डेले भने यो पुरस्कारले हाम्रो विद्यालयको गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धतालाई प्रमाणित गरेको छ। यसले हामीलाई अझै राम्रो गर्न प्रेरित गर्नेछ।
बाणगंगा नगरपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले यो पुरस्कारले हाम्रो क्षेत्रको शैक्षिक विकासलाई नयाँ उचाइमा पुर्याएको बताउँदै यसले अन्य विद्यालयहरूलाई पनि गुणस्तरीय शिक्षा प्रदान गर्न प्रोत्साहित गर्ने बताए ।
पिपरा स्थित जनता माध्यमिक विद्यालयले लामो समयदेखि अंग्रेजी माध्यममा अध्यापन गराउँदै आएको छ भने केही वर्षदेखि सिटिइभीटी तर्फका कार्यक्रमहरु पनि संचालन गरेको छ । पछिल्लो समय जनता माध्यमिक विद्यालये सिटिइभीटी कार्यक्रमहरुमा पनि उत्कृष्ट हासिल गर्दै गएको सिटिइभीटी कोर्डिनेटर हरि चौधरीले बताए । चौधरीले जनता माध्यमिक विद्यालयले डिप्लोमा इन जियोमेक्ट्रिक्स इन्जिनियरिङ्ग, सिविल इन्जियिनियरिङ्ग, डिप्लोमा इन एग्रीकल्चर (पशु विज्ञान), डिप्लोमा इन फरेस्ट्री वन विज्ञान अध्यापन गराउँदै आएको बताए ।
जनताका यादव पोख्रेललाई राष्ट्रिय शिक्षा पुरस्कार
जनता मा वि पिपराका शिक्षक यादव पोख्रेलले राष्ट्रिय शिक्षा पुरस्कार २०८१ बाट पुरस्कृत भएका छन । विस २०६२ देखि शिक्षा क्षेत्रमा सक्रिय रही आएका छन् । हाल पोख्रेल जनता माविको स्तर उन्नतीमा सक्रिय छन् ।
पुरस्कार पाउने भए संगै पोख्रेलले छोटो प्रति क्रिया दिदै भने कर्म गरे अनुसार फल पाएको र आफू लाई जनता माविले चिनाएको र जनता मावि कै स्तर उन्नती र गुणस्तरीय शिक्षा प्रदान गर्न अझ सक्रिय भएर लाग्न थप हौसला मिलेको बताए ।
शिक्षा मन्त्रालयले कपिलवस्तुबाट जनता मा.वि.का शिक्षक पोख्रेल सहित सहित लुम्बिनी प्रवेशका वाह्र जिल्लाका १२ जनालाई पुरस्कृत गर्ने भएको हो । शिक्षा मन्त्रालयले पछि शिक्षा ईकाई समन्वय मार्फत पुरस्कार प्रदान गर्ने बताइएको छ ।
यसैबीच दाङको तुलसीपुर उपमहानगरपालिकास्थित श्री मावि तुलसीपुर सेन्टरले ३ लाख नगदसहित प्रथम पुरस्कार पाएको छ । २०८० सालको माध्यमिक शिक्षा परीक्षामा प्राप्त गरेको नतिजाको आधारमा उक्त विद्यालय देशभरमा प्रथम भएको शिक्षा मन्त्रालयले जनाएको छ । काठमाडौं महानगरपालिका त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविले दुई लाखसहित दोस्रो पुरस्कार प्राप्त गरेको छ । दाङकै जनकल्याण मावि शान्तिनगर तृतीय भएको छ । उक्त विद्यालयलाई १ लाख नगद पुरस्कार प्रदान गरिएको छ ।
निजी विद्यालयतर्फ काठमाडौं टोखाको फलोसेन्ट मावि प्रथम, विजेश्वरी ज्ञान मन्दिर सैनिक विद्यालय काठमाडौं १५ दोस्रो र बुढानीलकण्ठ स्कुल तेस्रो भएको शिक्षा मन्त्रालयले जनाएको छ । उनीहरूले पनि क्रमःश ३, २ र १ लाख नगद पुरस्कार पाएका छन् ।
विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याङ्कनको आधारमा पोखरा विश्वविद्यालयअन्तर्गतको श्री स्कुल अफ बिजनेस कास्की आंगिक क्याम्पस मध्ये उत्कृष्ट ठहरिएको छ । क्याम्पसले साढे दुई लाख नगद पुरस्कार प्राप्त गरेको शिक्षा मन्त्रालयले जनाएको छ । सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस मध्ये ललितपुरस्थित चापागाँउको जनभावना क्याम्पस उत्कृष्ट भएको छ ।
त्रिभुवन विश्वविद्यालय अर्न्तगतको उक्त क्याम्पसले पनि साढे २ लाख नै पुरस्कार पाएको छ । निजीतर्फ त्रिविकै मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्स सोल्टीबोट राष्ट्रिय स्तरमा उत्कृष्ट भई पुरस्कार पाएको छ ।