विजयनगरको वार्षिक प्रगति समिक्षाः योजनाहरूमा अनुगमन र सुधारमा जोड


पालिका पत्र

५ आश्विन २०८१, शनिबार १९:५८ मा प्रकाशित

कपिलवस्तु, ५ असोज। विजयनगर गाउँपालिकाले शुक्रबार खडैचामा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समिक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रमका दौरान गाउँपालिकाका सबै शाखाहरूले आफ्नो वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। समिक्षामा योजना कार्यान्वयनको क्रममा देखिएका चुनौतीहरू, समाधानका उपायहरू, र अनुगमनको आवश्यकता विशेष रूपमा उठान गरियो।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले कार्यक्रममा सबै शाखा प्रमुखहरूलाई जवाफदेही रहन आग्रह गरे। जनप्रतिनिधि र कर्मचारीहरूले समन्वयमा काम गरेर योजनाहरूलाई जनस्तरमा प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए। अध्यक्ष थापाले शिक्षा, स्वास्थ्य, कृषि, र पूर्वाधार क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताए र विजयनगरलाई नमुना गाउँपालिका बनाउन सबैको भूमिका महत्त्वपूर्ण हुने कुरा उठाए।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले योजनाको अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताउँदै, उपभोक्ता समितिसँगको समन्वयमा योजनाहरू सम्पन्न गर्न सुझाव दिइन्। प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले हरेक कार्य परिणाममुखी र पारदर्शी हुनुपर्नेमा जोड दिए र सबै योजनाको कडाइका साथ अनुगमन गर्न आग्रह गरे। रिजालले असोजमा दशैं अघि वार्षिक प्रगति समिक्षा पुस्तक सार्वजनिक गरिने जानकारी पनि दिए।

प्रतिक्रिया दिनुहोस्