शिवराज नगरपालिकामा प्लाष्टिकजन्य मालाको प्रयोगमा प्रतिबन्ध


पालिका पत्र

४ कार्तिक २०८१, आईतवार १०:२३ मा प्रकाशित


बाणगंगा, कार्तिक ०४ । कपिलवस्तुको शिवराज नगरपालिकाले आगामी तिहारमा प्लास्टिकजन्य मालाको प्रयोग र किनबेचमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। नगरपालिकाले जारी गरेको सूचनामा वातावरण प्रदूषण र मानव स्वास्थ्यमा पर्ने नकारात्मक असरलाई दृष्टिगत गर्दै यो निर्णय गरिएको हो। प्रमुख प्रशासनिक अधिकृत बाबुराम पौडेलद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ कि प्लास्टिकजन्य मालाले यहाँका स्थानीय कृषकहरूले उत्पादन गरेका फूलहरूलाई बजार नपाउने बनाउने भएकाले यस प्रकारका मालाहरूको विक्री वितरणमा रोक लगाइएको हो।

यसका सट्टा सयपत्री, गोदावरी र मखमली जस्ता स्थानीय फूलहरूको प्रयोगलाई प्रोत्साहन गर्दै नगरपालिकाले तिहारमा प्राकृतिक फूलहरूको प्रयोगलाई बढावा दिन आग्रह गरेको छ। यसले वातावरणमैत्री व्यवहारलाई प्रवर्द्धन गर्नुका साथै ठूलो मात्रामा धनराशी बाहिर जानबाट रोक्ने अपेक्षा गरिएको छ। नगरपालिकाले यो सूचनाको उल्लंघन गर्नेहरूमाथि कडा कारबाही गरिने र प्लास्टिकजन्य सामग्री जफत गरिने चेतावनी पनि दिएको छ।

मेयर अजय थापाले पनि सबै नागरिकलाई वातावरणमैत्री र स्थानीय उत्पादनको प्रयोग गर्न आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्