सडक अवरोध गर्ने गतिविधिमा विजयनगर गाउँपालिकाको कडा कारबाही, जरिवाना तोकियो


पालिका पत्र

७ कार्तिक २०८१, बुधबार २०:१२ मा प्रकाशित

कपिलवस्तु, विजयनगर गाउँपालिकामा सडकमा बिस्कुन सुकाउने, धान दाईँ लगाउने, पराल राख्ने, पशुचौपाया बाँध्ने, बाटो अवरोध गर्ने र फोहोर गर्ने जस्ता गतिविधिमा प्रतिबन्ध लगाइएको छ।

गाउँपालिका वास संयोजक अर्जुन कुमार बेल्बासेले यस्ता गतिविधिले सडक दुर्घटनाको जोखिम बढाउने भएकाले अटेरी गर्नेहरूलाई कारबाहीको व्यवस्था गरिएको बताउनुभयो। यदि कसैले सडकमा धान सुकाउने, फोहोर गर्ने, वा पशुचौपाया बाँध्ने कार्य गरिरहेको पाइएमा ५ सयदेखि ५ हजार रुपैयाँसम्म जरिवाना तिराइने उहाँले जानकारी दिनुभयो।

गाउँपालिकाले स्वच्छता अभियानलाई निरन्तरता दिँदै अटेरी गर्नेहरूलाई सम्झाईबुझाई गरिरहेको छ। यसै क्रममा अनुगमनलाई तीव्र बनाउँदै, सुन्दर र स्वच्छ विजयनगर निर्माणको लक्ष्यसहित सरसफाई अभियानलाई सफल बनाउन सबैलाई जिम्मेवारी पूरा गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्