सिद्धार्थनगर नगरपालिकाद्वारा औषधि पसल र ल्याबहरूमा कडाइ, सुधारका निर्देशनहरू जारी


पालिका पत्र

८ कार्तिक २०८१, बिहीबार ०९:२० मा प्रकाशित

रुपन्देही जिल्लाको सदरमुकाम भैरहवा स्थित सिद्धार्थनगर नगरपालिकाले औषधि पसल र मेडिकल हलहरूमा अनुगमन गरेको छ। नगर उपप्रमुख उमा अधिकारीको नेतृत्वमा बैकं रोड र भिम अस्पताल क्षेत्रका औषधि पसल, ल्याब र मेडिकल हलहरूमा गरिएको अनुगमनका क्रममा अधिकांश पसलहरू नगरपालिकामा नवीकरण नगरिएको पाइएको छ। त्यस्ता पसलहरूलाई तत्काल नवीकरण गर्न निर्देशन दिइएको छ, अन्यथा कारबाही गर्ने चेतावनी उपप्रमुख अधिकारीले दिइन्।

अनुगमनको क्रममा, म्याद गुज्रिएका औषधिहरू छुट्टै राख्नुपर्ने, ल्याबहरूको सरसफाइमा ध्यान दिनुपर्ने र औषधि बिक्रीपछि अनिवार्य रूपमा बिल काट्नुपर्ने सुझावहरू पनि दिइयो। नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गीता न्यौपानेले नगरपालिकाले नियमित अनुगमन गर्ने र सुझाएका सुधारात्मक कदमहरू लागू भए/नभएको हेर्ने जानकारी दिइन्।

यस अनुगमन टोलीमा नगर उपप्रमुख उमा अधिकारीसँगै वडा नं ५ का अध्यक्ष पूरन प्रसाद श्रेष्ठ, वडा नं १३ का अध्यक्ष सोमबहादुर गुरुङ, औषधि व्यवसायी सङ्घका सदस्य उमेश चन्द्र आचार्य, नगरपालिकाको स्वास्थ्य तथा राजस्व शाखाका अधिकारीहरू पनि सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्