लुम्बिनीमा पाँच वडाध्यक्ष र एक उपाध्यक्ष पदमा उपनिर्वाचन हुने, उपाध्यक्ष पदमा मुख्य प्रतिस्पर्धा


पालिका पत्र

२४ कार्तिक २०८१, शनिबार १५:०६ मा प्रकाशित

हरि घिमिरे, २४ कार्तिक ।

आगामी मंसिर १६ गते हुने लुम्बिनी प्रदेशका स्थानीय तहका उपनिर्वाचनमा मुख्यत नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्री स्वतन्त्र बीच प्रतिस्पर्धा हुँदैछ । लुम्बिनी प्रदेशमा एक गाउँपालिका उपाध्यक्ष र पाँच वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।


रिक्त पदहरूमा यसअघि चारजना नेपाली कांग्रेस र दुईजना माओवादीबाट निर्वाचित भएका थिए । यस पटक एमालेले सबै पदमा उम्मेदवार टुंगो लगाइसकेको छ भने, कांग्रेस र माओवादीले केही स्थानमा उम्मेद्वार टुंग्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि कपिलवस्तुमा उम्मेद्वार टुंग्याएको छ । अन्य क्षेत्रमा भने उम्मेदवार घोषणा भने गरेको छैन ।


रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदका लागि उपनिर्वाचन मुख्य चासोको विषय बनेको छ । गत भदौ २८ गतेको सवारी दुर्घटनामा गाउँपालिका उपाध्यक्ष भूपेन्द्रा बुढा मगरको निधन भएपछि उपाध्यक्ष पद रिक्त भएको थियो । २०७९ सालको निर्वाचनमा माओवादी केन्द्रबाट उनी उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । त्यसैगरी, सोही गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्ष पनि दुर्घटनामा निधन भएपछि त्यहाँ पनि उपनिर्वाचन हुन लागेको हो ।


लुम्बिनी प्रदेश निर्वाचन कार्यालय, दाङका अनुसार उपनिर्वाचन हुने स्थानहरूमा पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष, वडा नम्बर २ को वडाध्यक्ष, गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४, र कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष पद रहेका छन् ।
अघिल्लो निर्वाचनको परिणाम अनुसार, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा माओवादीले जित हात पारेको थियो ।

यसपटक कांग्रेस–एमाले गठबन्धनले माओवादीलाई पराजित गर्न आन्तरिक तयारी गरेको छ भने, माओवादीले विप्लव नेतृत्वको नेकपा र एकीकृत समाजवादीसँग तालमेल गर्ने तयारी गरिरहेको छ । कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन र एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कडेँलले उपाध्यक्ष पदमा मिलेर जाने सम्भावना रहेको बताएका छन् ।


अर्को तर्फ, माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन वरालले कांग्रेस र एमालेबीचको गठबन्धन भए पनि आफ्नो पार्टीले तयारी गरिरहेको र जीत सुनिश्चित गर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्