प्रतिभा होइन, पैसाको खेल ! कपिलवस्तु महोत्सवको प्रतियोगितामा पारदर्शितामाथि शङ्का


पालिका पत्र

२४ कार्तिक २०८१, शनिबार २०:२६ मा प्रकाशित


बाणगङ्गा, २४ कार्तिक ।
१५ औं कपिलवस्तु महोत्सव नजिकै आइरहेको छ, तर यसपटक महोत्सवमा डान्स आइडल प्रतियोगितालाई लिएर विभिन्न प्रश्नहरू उठ्न थालेका छन्। कपिलवस्तु उद्योग वाणिज्य सङ्घ र बाणगङ्गा वेलफेयर सोसाइटीले पालैपालो महोत्सव सञ्चालन गर्दै आएका छन् । कार्यक्रम सञ्चालनको लागि आर्थिक चलखेलको आरोपसँगै महोत्सवको उद्देश्य र निष्पक्षतामाथि समेत शङ्का उब्जिएको छ । एक महोत्सवको हिसाब सार्वजनिक नगर्नु अर्को डान्स आइडल । दुवै शङ्काका विषय हुन् ।


सँधै जसो कपिलवस्तु महोत्सवमा डान्स आइडल प्रमुख आकर्षणका रूपमा रहन्छ । तर, प्रतियोगितामा ठूलो रकम खर्च गरी टिकट भोटिङको आधारमा विजेता चयन गरिएको विषयमा विभिन्न प्रश्नहरू उठिरहेका छन् । आयोजकका अनुसार, “प्रतियोगिता नै नहुने हो भने महोत्सव घाटामा जाने सम्भावना उच्च हुन्छ ।”

प्रतिस्पर्धी अभिभावकहरूको गुनासोः ५ लाखमा छोरी विजेता बनाइयो


प्रतियोगितामा सहभागी धेरै प्रतिस्पर्धीले टिकट किनेर मात्रै विजयी बन्ने अवस्था रहेको स्वीकारेका छन्। प्रतियोगिता चलिरहेका बेला डरका कारण आफ्नो गुनासो व्यक्त गर्न नसकेका प्रतिस्पर्धी र अभिभावकहरूले महोत्सवपछि खुला रूपमा आर्थिक चलखेलको आलोचना गरेका छन्। एक विजेता प्रतिस्पर्धीका अभिभावकले भने, “छोरीलाई जिताउन मैले पाँच लाख रुपैयाँको टिकट किने। अन्यथा, जित्नको लागि कुनै विकल्प नै थिएन ।” कतिपय अन्य अभिभावकले पनि आर्थिक अभावका कारण प्रतिस्पर्धामा सफल हुन नसकेको अनुभव सुनाएका छन् ।


आइडल प्रतियोगिता निष्पक्ष बनाउन टिकट विना मात्र सञ्चालन गर्नुपर्ने 

प्रतियोगितामा टिकटको खर्च गर्नुको सट्टा प्रतिभाको कदर गरी, भोटिङ वा एसएमएस भोटिङमार्फत न्यायसङ्गत निर्णय हुनुपर्ने माग सर्वसाधारणबाट उठिरहेको छ । कार्यक्रम पारदर्शिताका लागि सुधार गर्नुपर्ने जनस्तरमा व्यापक प्रतिक्रियाहरू प्राप्त भएका छन्।


आयोजकले भने प्रतियोगितामा पारदर्शिता रहेको र न्यायपूर्ण चयन प्रक्रिया भएको दाबी गर्दै आएका छन् । तथापि, पटक पटक प्रतियोगितामाथि उठेका प्रश्नहरूले आयोजक समितिमा मापदण्ड पुनरावलोकनको आवश्यकता औंल्याएको छ । आगामी महोत्सवमा पारदर्शी प्रक्रियामार्फत टिकट विना नै प्रतियोगिता सञ्चालन गर्नुपर्ने र प्रतिभाको आधारमा मात्रै विजेता घोषणा गर्नुपर्ने धेरैको माग रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस्