बाणगंगा, कार्तिक २९ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले सुत्केरी महिलाहरूलाई सुविधा दिन निशुल्क अटोरिक्सा सेवा सुरु गरेको छ। केही दिनअघि बसेको कार्यपालिकाको बैठकले, आवश्यकताका आधारमा एम्बुलेन्स उपलब्ध नभएमा अटोरिक्सा सेवा प्रदान गर्ने निर्णय गरेको थियो। नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख केशव कुमार श्रेष्ठले यो सेवाबारे जानकारी दिए।
नगर प्रमुख श्रेष्ठले भने, “नगरमा एकमात्र एम्बुलेन्स भएकाले सबैलाई सेवा दिन नसक्दा वैकल्पिक रूपमा अटोरिक्सा प्रयोग गर्ने निर्णय गरेका हौँ।” उनले ग्रामीण क्षेत्रमा अटोरिक्सा सहज रूपमा उपलब्ध भएकाले यो सेवा थप प्रभावकारी हुने आशा पनि व्यक्त गरे। बर्थिङ सेन्टरमा अटोरिक्सा मार्फत् आउने सुत्केरी महिलालाई ५ सय रुपैयाँसम्म सहयोग प्रदान गरिने उनले जानकारी दिए।
श्रेष्ठले, दुर्गम क्षेत्रका कतिपय स्थानमा एम्बुलेन्स पुग्न नसक्ने भएकाले अटो सेवा विशेष उपयोगी हुने बताए। साथै, नगरमा अर्को एम्बुलेन्स आवश्यक भएको भन्दै त्यसको व्यवस्थाका लागि प्रयास भइरहेको जानकारी गराए। हाल १, ३, ४ र ९ नम्बर वडामा बर्थिङ सेन्टर सञ्चालनमा रहेको र अन्य वडामा पनि विस्तार गर्न आवश्यक मापदण्ड पुरा भएपछि बर्थिङ सेन्टर स्थापना गरिने बताए।
रगतको आपूर्तिमा कमी नहोस् भन्ने उद्देश्यले बुटवल र तौलिहवाका रेडक्रस शाखासँग समन्वय गरेर नगरले रगत आपूर्ति सुनिश्चित गरेको श्रेष्ठले उल्लेख गरे। नगरका नागरिकहरूले परिचय पत्र देखाएर यी ठाउँहरूबाट निशुल्क रगत प्राप्त गर्न सक्नेछन्। साथै, नगरले विभिन्न स्वास्थ्य शिविर निशुल्क सञ्चालन गरिरहेको हुँदा नगरबासीले स्वास्थ्य सेवामा राम्रो लाभ लिएको पनि उनले बताए। कार्यक्रममा सहभागीले नगरपालिकाको यस सेवाबाट आफूहरू सन्तुष्ट रहेको प्रतिक्रिया दिए।