बाणगंगा, मंसिर ०३ । कपिलवस्तुको बाणगंगा नगरपालिकाले ‘पूर्ण सरसफाई नगर’ अभियान सुरु गरेको छ। आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा समावेश गरिएको यो अभियानको औपचारिक सुरुवात सोमबार बसेको पहिलो बैठकबाट गरिएको हो। बैठकमा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले अभियानबारे जानकारी गराउँदै पूर्ण सरसफाईका ७ सुचकमध्ये ८० प्रतिशत लक्ष्य सहजै हासिल गर्न सकिने बताए।
नगरप्रमुख चक्रपाणी अर्यालले अब सामाजिक विकासमा नगरको ध्यान केन्द्रित हुने बताए। उनले नागरिक सहयोग बिना सामाजिक विकास सम्भव नहुने भन्दै सबैलाई अभियानमा साथ दिन आह्वान गरे। अर्यालले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि आवश्यक जग्गा उपलब्ध नभएकाले काम अधुरो रहेको उल्लेख गरे। उनले ल्याण्डफिल्ड साइटको विषयमा स्थानीयको गलत बुझाइलाई सच्याउनुपर्ने आवश्यकता रहेको बताए।
कार्यक्रममा नेपाली कांग्रेसका नगरसभापति विष्णु थापा, राजेन्द्र विक्रम शाह, र विश्व कार्कीले पूर्ण सरसफाई अभियानप्रति प्रतिबद्धता व्यक्त गर्दै राजमार्ग क्षेत्रबाट अभियान सुरु गर्न सुझाव दिए।
उनीहरूले राजनीतिक विवादका कारण फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणमा अवरोध भएको बताउँदै नगरका मुख्य बजार क्षेत्रलाई प्राथमिकतामा राखेर सरसफाई कार्य अघि बढाउन आग्रह गरे।