व्यवसायीको स्वास्थ्य सुरक्षामा उद्योग व्यापार संघको नयाँ पहल


2 July, 2026 12:24 pm मा प्रकाशित

कपिलवस्तु, असार १८।

उद्योग व्यापार संघ कपिलवस्तुले आफ्नो चौथो स्थापना दिवस विविध कार्यक्रमका साथ मनाउँदै सदस्यहरूको स्वास्थ्य सुरक्षालाई लक्षित विशेष सुविधा घोषणा गरेको छ।

स्थापना दिवसको अवसरमा संघले हाईटेक पाथ ल्याबसँग सहकार्य गर्दै आफ्ना सम्पूर्ण सदस्यलाई सबै प्रकारका ल्याब परीक्षण सेवामा ३० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता गरेको हो।

यस सम्बन्धमा उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष टोपनारायण वेल्वासे र हाईटेक पाथ ल्याबका अध्यक्ष धर्मराज भट्टराईबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतापछि संघका सदस्यहरूले गुणस्तरीय स्वास्थ्य परीक्षण सेवा सहुलियत दरमा प्राप्त गर्ने भएका छन्।

सम्झौतापछि बोल्दै संघका अध्यक्ष वेल्वासेले व्यवसायीहरूको आर्थिक हितसँगै स्वास्थ्य सुरक्षालाई पनि संघले प्राथमिकतामा राखेको बताए। सदस्यहरूको हितमा यस्ता सहकार्यलाई आगामी दिनमा अझ विस्तार गर्दै लैजाने उनले प्रतिबद्धता व्यक्त गरे।

हाईटेक पाथ ल्याबका अध्यक्ष भट्टराईले उद्योग व्यापार संघसँगको सहकार्यले व्यवसायी समुदायलाई सहज, गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले भविष्यमा पनि स्वास्थ्य सेवासम्बन्धी सहकार्यलाई थप विस्तार गरिने बताए।

संघको आफ्नै सचिवालयमा आयोजित स्थापना दिवस कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा व्यवसायी सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले स्थापना दिवसले संघलाई अझ सशक्त, सक्रिय र व्यवसायीमैत्री संस्थाका रूपमा अघि बढ्न प्रेरणा दिएको धारणा व्यक्त गरेका थिए।

संघले आगामी दिनमा व्यवसायीहरूको क्षमता अभिवृद्धि, स्वास्थ्य, सामाजिक सुरक्षा तथा व्यावसायिक हितसँग सम्बन्धित प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै सदस्यकेन्द्रित गतिविधिलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्