बाणगंगा, मंसिर ०३ । श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहको १२औं वार्षिक साधारण सभा सोमबार कपिलवस्तुको बाणगंगा नगरपालिकामा सम्पन्न भयो। “रुख रोपौं, वन जोगाऔं” भन्ने मूल नाराका साथ श्रीपेच होटलमा आयोजित कार्यक्रममा वन संरक्षण, व्यवस्थापन, र स्थानीय समृद्धिका विषयमा विभिन्न व्यक्तिहरूले धारणा राखे।
नगरप्रमुख चक्रपाणी अर्यालले वनलाई “बाह्रै महिनाको धन” बनाउनुपर्ने आवश्यकता औंल्याउँदै बाणगंगाका ३६ सामुदायिक वनले समुचित स्रोतको उपयोगमा ध्यान दिनुपर्ने बताए। उनले वनको बजेट प्रभावकारी ढंगले खर्च गर्न र स्थानीय सरकार तथा वन कार्यालयबीच सहकार्य गर्न जोड दिए।
वैज्ञानिक वन महासंघ उपझोत्ता केन्द्रिय अध्यक्ष रेणु सेनले महिलाहरूलाई उद्यममुखी बनाउन सामुदायिक वनले तालिमसहित बजेटको व्यवस्था गर्नुपर्ने बताइन्। वनका अध्यक्ष गणेश बहादुर सिंह ठकुरीले वनको आम्दानी स्रोत वृद्धि, गरिब उपभोक्ताको सहयोग, र नयाँ वृक्षरोपणलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै देशलाई काठमा आत्मनिर्भर बनाउने योजना प्रस्तुत गरे।
कार्यक्रममा सामुदायिक वन महासंघ कपिलवस्तुका अध्यक्ष जयलाल गिरि, शिव मन्दिर सामुदायिक वनका अध्यक्ष झलक मल्ल ठकुरी, र नेपाल वन पैदावार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष रुक बहादुर भुसाललगायतले श्रृङ्गीघाट सामुदायिक वनलाई जिल्लाकै उत्कृष्ट उदाहरणको रूपमा प्रशंसा गरे।
अटो रिक्सा चालक महिलाहरूलाई सम्मान गर्दै नगद पुरस्कार प्रदान गरियो। वनका कोषाध्यक्ष हरि प्रसाद पौडेलले आर्थिक प्रतिवेदन, र सचिव सुष्मा खाँणले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे।
कार्यक्रमको अध्यक्षता गणेश बहादुर सिंह ठकुरीले, प्रमुख आतिथ्य नगरप्रमुख चक्रपाणी अर्यालले, र सञ्चालन सचिव सुष्मा खाँणले गरेका थिए।