१७ मंसिर । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा मंसिर १९ गतेदेखि १५औँ कपिलवस्तु महोत्सव हुँदौ छ। ”सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने नाराका साथ हुने यो महोत्सवले जिल्लाको कला, संस्कृति, पर्यटन, उद्योग, र कृषिलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । महोत्सव पुस २ गतेसम्म बाणगंगाको बुद्ध रंगशालामा सञ्चालन हुनेछ ।
महोत्सवका सांस्कृतिक कार्यक्रम संयोजक रामजी सेनले स्थानीय कलाकार र राष्ट्रिय प्रतिभाहरूलाई मंच प्रदान गर्न यो महोत्सव महत्त्वपूर्ण हुने बताए । उनले भने, ”यो महोत्सवले हाम्रो सांस्कृतिक धरोहरको संरक्षण मात्र होइन, नयाँ पुस्तालाई परम्परागत मूल्य र संस्कारप्रति जागरूक बनाउने अवसर पनि प्रदान गर्दछ ।”
चर्चित कलाकारहरूको प्रस्तुति
महोत्सवमा प्रमोद खरेल, एलिना चौहान, प्रकाश दुतराज, समिक्षा अधिकारी, शान्ति श्री परियार, अर्जुन सापकोटा, टंक तिमिल्सिना, अन्जु चौधरी, र शान्ता रानी परियारजस्ता राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ। यी प्रस्तुतिहरूले महोत्सवलाई थप रोमाञ्चक बनाउने विश्वास लिइएको छ।
स्थानीय उत्पादनको प्रवर्द्धन
महोत्सवमा कृषि, पर्यटन, र उद्योगसँग सम्बन्धित विशेष प्रदर्शनीहरू हुनेछन्। स्थानीय उत्पादनका स्टलहरू राखिएर यहाँका कृषिजन्य र हस्तकला उत्पादनहरूको प्रवर्द्धन गरिनेछ। यसले स्थानीय उद्यमी र किसानलाई प्रोत्साहन गर्ने महोत्सवका संयोजकहरूको भनाइ छ।
मनोरञ्जनात्मक कार्यक्रमहरू
महोत्सवमा डान्स आइडल प्रतियोगिता, बाल कार्यक्रम, र अन्य मनोरञ्जनात्मक गतिविधिहरूले सबै उमेरका सहभागीहरूको ध्यान आकर्षित गर्नेछ।