मालपोत कार्यालय स्थानान्तरणको निर्णयविरुद्ध उद्योग वाणिज्य संघको चेतावनी


पालिका पत्र

१६ पुष २०८१, मंगलवार १३:१५ मा प्रकाशित

कपिलवस्तु, पुस १६ गते । तौलिहवा उद्योग वाणिज्य संघले कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा रहेको मालपोत तथा नापी कार्यालयको शाखा कार्यालय बाणगंगा नगरपालिकामा स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ।

संघका अध्यक्ष गयादीन कुर्मीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा ऐतिहासिक तथा पुरातात्विक रूपले परिचित कपिलवस्तु जिल्ला सदरमुकामको अस्तित्व माथि प्रहार हुने निर्णयलाई फिर्ता लिन जोडदार माग गरिएको छ ।

ज्ञापनपत्रमा उल्लेख भए अनुसार, तौलिहवाको मुख्य बजार क्षेत्रका जग्गाहरू बालबिटोरी (बजारब्लक) जग्गाको रूपमा कायम रहेको र यहाँका नागरिकहरू आफ्नो जग्गाको स्वामित्वको लालपुर्जा विहीन रहेको अवस्थामा पटक-पटक बुझाइएको ज्ञापनपत्र प्रति कुनै ध्यान नदिइएको र मन्त्रीको पहल गैरजिम्मेवार रहेको आरोप लगाइएको छ।

वाणिज्य संघले सदरमुकाममा रहेको मालपोत तथा नापी कार्यालयबाट प्रभावकारी सेवा दिने पहल तथा बालबिटोरी बजार ब्लकका जग्गाको पूर्जा उपलब्ध गराउन अनुरोध गरेको छ। साथै माग सम्बोधन नभएको खण्डमा विरोध कार्यक्रममा जाने चेतावनी समेत दिइएको छ।

कार्यालय स्थानान्तरणको निर्णयले स्थानीय व्यवसायी तथा सर्वसाधारणमा गम्भीर चिन्ता उत्पन्न भएको छ। यस विषयमा सरोकारवाला निकायहरूबीच थप छलफल र समन्वय आवश्यक देखिएको छ।

प्रतिक्रिया दिनुहोस्