बाणगंगा, पौष २३ । बाणगंगा नगरपालिकाको बैठक सम्पन्न, विभिन्न निर्णयहरू पारित बाणगंगा नगरपालिकाको कार्यपालिकाको बैठक नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । बैठकले विभिन्न महत्वपूर्ण निर्णय गर्दै आगामी नगर सभामा पेश गर्ने प्रस्तावहरू पारित गरेको छ ।
नगरपालिकाका प्रवक्ता विष्णु पौडेलका अनुसार बैठकमा संगठनात्मक अध्ययन प्रतिवेदन (ओएनएन) प्रस्तुत गरिएको छ, जसलाई आगामी नगर सभामा पेश गर्ने निर्णय गरिएको छ ।
स्वास्थ्य ऐन २०८१ पारित गर्ने तयारी
बैठकले स्वास्थ्य ऐन २०८१ पारित गर्न आगामी पुस २५ गते बस्ने १६औँ नगर सभामा पेश गर्ने निर्णय गरेको छ । यसका साथै आर्थिक ऐन र संशोधन, बिनियोजन ऐन र संशोधन पनि नगर सभामा पेश गरिनेछ। प्रवक्ता पौडेलले नगर सभाको तयारी पूर्ण भएको जानकारी दिएका छन् ।
दुधमा आत्मनिर्भर पालिका घोषणा योजना
नगर प्रमुख चक्रपाणी अर्यालका अनुसार बाणगंगा नगरपालिकालाई दुधमा आत्मनिर्भर पालिका घोषणा गर्ने प्रस्ताव नगर सभामा पेश गरिनेछ । नगर सभाबाट पारित भएपछि यो प्रस्ताव स्वीकृतिका लागि कृषि तथा पशुपंक्षी मन्त्रालयमा पठाइने योजना रहेको छ। प्रमुख अर्यालले नगर सभामा विशेष प्रस्ताव पनि प्रस्तुत गरिने जानकारी दिए ।
नगरको विकासमा रणनिति र योजना
उप प्रमुख रिता कुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले नगरको विकासलाई तीव्रता दिन आवश्यक रणनिति र योजनाबारे आफ्नो धारणा राखेका थिए । बैठकमा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, र शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।