बाणगंगा नगरपालिकाको बजेट १७.५ प्रतिशत मात्रै खर्च


२५ पुष २०८१, बिहीबार २०:०६ मा प्रकाशित

जितपुर, २५ पुस ।
बाणगंगा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को १ अर्ब २२ करोड ९५ लाख २४ हजारको कुल बजेटमध्ये हालसम्म १७.५ प्रतिशत मात्र खर्च गरेको छ । नगरप्रमुख चक्रपाणी अर्यालले विकास निर्माण र सेवा प्रवाहलाई तीव्र बनाउन प्रयास जारी रहेको बताएका छन् ।

नगरप्रमुख अर्यालले कुल बजेटको ४८.५ प्रतिशत आम्दानी संकलन भइसकेको र ९० प्रतिशत योजनाहरू कार्यान्वयन चरणमा रहेको जानकारी दिएका छन् । बजेट खर्चको कमीका बाबजुद नगरपालिकाले आत्मनिर्भरता तर्फ उन्मुख हुनेगरी राजस्व सुधार र कर प्रणालीको विस्तारमा काम गरिरहेको छ ।

अर्यालले लघु, मध्यम, र ठूला उद्योगहरूको स्थापना तथा विस्तारलाई सहज बनाउँदै कृषिमा आधुनिकीकरण र सीप विकासमा विविधीकरणको योजना अघि बढाएको बताएका छन् । नगरको ब्राण्ड निर्माण र सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई विशेष प्राथमिकता दिइएको छ ।

छाडा चौपायाहरू व्यवस्थापन गर्न मधुवनमा भागिरथी गौशालाको स्थापना, गौ महोत्सव सञ्चालन, र आन्तरिक आय वृद्धिका लागि योजनाहरू अघि सारिएको छ । फोहोरमैला व्यवस्थापनका लागि आईईई रिपोर्ट पनि अन्तिम चरणमा पुगेको जानकारी उनले दिए ।

नगरप्रमुखका अनुसार, सडक सञ्जाल, सिंचाई, पुल, र विद्यालय पूर्वाधारमा सुधार हुँदै गएको छ । नगरपालिकाले दुधमा आत्मनिर्भरता हासिल गर्न र बसपार्क निर्माणका लागि तयारी पनि गरिरहेको छ ।

पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राख्दै, नगरपालिकाले हरेक वर्ष १ अर्बभन्दा बढी विकास खर्च गर्दै समृद्धि र स्वरोजगारलाई जोड दिएको छ । नगरप्रमुखले नागरिकलाई सन्तुष्टि प्रदान गर्न र नगरलाई आत्मनिर्भर बनाउन रणनीतिक योजनाहरूलाई तीव्र बनाउन प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्