कपिलवस्तु – बाणगंगा नगरपालिकाले राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि आवश्यक नदीजन्य पदार्थ निकासीसम्बन्धी विषयमा राजनीतिक दलहरूको राय लिन सर्वदलीय बैठक सम्पन्न गरेको छ ।
बुटवलदेखि गोरुसिंगेसम्मको पूर्व–पश्चिम (महेन्द्र) राजमार्गको स्तरउन्नतिको काम सुरु भएसँगै आयोजनाका लागि आवश्यक नदीजन्य पदार्थ बाणगंगा नगरपालिकाबाट उपलब्ध गराउने विषयमा छलफल गर्न बैठक आयोजना गरिएको हो ।
नगरपालिकाका प्रवक्ता विष्णु पौडेलका अनुसार कुन खोलाबाट कति परिमाणमा नदीजन्य पदार्थ उपलब्ध गराउन सकिन्छ भन्नेबारे बैठकमा गम्भीर छलफल भएको थियो । सर्वदलीय बैठकले राष्ट्रिय गौरवको आयोजनालाई आवश्यक सामग्री उपलब्ध गराउनुपर्ने राय व्यक्त गरेको उनले जानकारी दिए ।
यस विषयमा अन्तिम निर्णय कार्यपालिका बैठकले लिने जनाइएको छ । यसअघि पनि बाणगंगा नगरपालिकाले प्रत्येक वर्ष खोलाहरूमा नदीजन्य पदार्थ निकासीका लागि ठेक्का लगाउँदै आएको छ । यस वर्ष पनि बाणगंगा, कोइली, धिरी लगायतका खोलाबाट निकासीका लागि ठेक्का दिने तयारी भइरहेको छ ।