
बाणगङ्गा, ०६ माघ । बाणगङ्गा नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारीमा खटाउनुअघि मजदुरहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । नगर सभाहलमा सोमवार आयोजित कार्यक्रममा मजदुरहरूलाई कार्यक्रमको उद्देश्य, कार्यक्षेत्र, जिम्मेवारी, सुरक्षा उपाय तथा भुक्तानी प्रक्रियाबारे जानकारी प्रदान गरिएको थियो ।
नगर प्रमुख चक्रपाणि अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगारी निवारण गर्दै स्थानीय विकासलाई प्रवर्द्धन गर्ने उल्लेख गरे । उनले मजदुरहरूको कार्यस्थल सुरक्षाका लागि आवश्यक उपायहरूबारे समेत जानकारी गराए ।

कार्यक्रममा व्यक्तिगत सुरक्षा उपकरणको प्रयोग, जोखिम मूल्याङ्कन, वेतन दर तथा भुक्तानी प्रक्रिया, कार्यसमय पालनाको महत्त्व लगायत विषयमा विस्तृत छलफल भएको थियो ।
नगरपालिकाका रोजगार संयोजक गोमा घिमिरेले मजदुरहरूले सामना गर्न सक्ने समस्याहरू समाधान गर्ने तरिका तथा उजुरी प्रक्रिया बारे जानकारी गराइन । प्रधानमन्त्री रोजगार कार्यक्रममा १ सय दिनको रोजगारीका लागि छनोट भएका ७१ जनालाई सुरक्षाका सामग्री वितरण गरिएको पनि घिमिरेले जानकारी दिनईन् ।
त्यसैगरी, रोजगारीको क्रममा कुनै दुर्घटना भएमा उपलब्ध क्षतिपूर्ति व्यवस्थाबारे समेत जानकारी गराइएको थियो । कार्यक्रममा नगर उप-प्रमुख रिता कुमारी चौधरी, विभिन्न वडाका अध्यक्षहरू तथा कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।