“बाणगंगाको पहिलो बैठक : बजेट कार्यान्वयनदेखि ठूला संरचना संरक्षणसम्म ७ महत्वपूर्ण निर्णय”


पालिका पत्र

3 August, 2026 10:05 pm मा प्रकाशित

बाणगंगा नगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को पहिलो बैठक सम्पन्न भएको छ । बैठकले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक कार्ययोजना पारित गरेको छ ।

नगरपालिकाका अनुसार बैठकले गत आर्थिक वर्षको प्रगति समीक्षा कार्यक्रम आगामी २१ गते बिहीबार बिहान ११ बजे नगरपालिकाको सभा हलमा आयोजना गर्ने निर्णय गरेको छ । समीक्षा कार्यक्रममा अघिल्लो आर्थिक वर्षमा सञ्चालन भएका योजना, सेवा प्रवाह, वित्तीय अवस्था तथा उपलब्धिको समग्र मूल्याङ्कन गरिनेछ ।

बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि नगर दररेट (रेट अफ रेट) समेत स्वीकृत गरेको छ । नगर दररेट पारित भएसँगै नगरपालिकाबाट सञ्चालन हुने विकास निर्माणका योजनाहरू कार्यान्वयन प्रक्रियामा अगाडि बढ्ने बाटो खुलेको छ । नगरपालिकाले अब योजनाको लागत अनुमान, सम्झौता तथा कार्यान्वयन प्रक्रिया तीव्र बनाउने जनाएको छ ।

उद्योग शाखा स्थापना गर्ने निर्णय

बैठकले नगरभित्र उद्योग तथा व्यवसाय प्रवर्द्धनलाई व्यवस्थित गर्न नगरपालिकामा छुट्टै उद्योग शाखा स्थापना गर्ने निर्णय गरेको छ । उद्योग क्षेत्रको विकास, व्यवसायीलाई सहजीकरण, उद्यमशीलता प्रवर्द्धन तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले शाखा स्थापना गर्न लागिएको नगर प्रमुख चक्रपाणी अर्यालले बताए ।

निःशुल्क प्रसुति एम्बुलेन्स सेवा प्रभावकारी बनाउन कार्यविधि संशोधन

बाणगंगा नगरपालिकाले विगतदेखि सञ्चालन गर्दै आएको पूर्ण संस्थागत प्रसुति सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा कार्यक्रमलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

बैठकले उक्त सेवाको व्यवस्थापनका लागि २०७७ सालमा जारी गरिएको कार्यविधि संशोधन गर्ने निर्णय गरेको हो । नगरपालिकाले सुरक्षित मातृत्व सेवामा पहुँच विस्तार गर्न र आर्थिक अवस्था कमजोर भएका गर्भवती तथा सुत्केरी महिलालाई सहज यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

ठूला पूर्वाधार संरक्षणका लागि समिति गठन

नगरभित्र निर्माण सम्पन्न भएका तथा निर्माणाधीन ठूला पूर्वाधार संरचनाको संरक्षण, सञ्चालन र दीर्घकालीन उपयोग सुनिश्चित गर्न बैठकले स्थानीय पूर्वाधार संरक्षण तथा उपयोग व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ ।

समितिको संयोजक सम्बन्धित वडाका वडा अध्यक्ष रहनेछन् । समितिमा सम्बन्धित वडाका वडा सदस्यहरू, पूर्वाधार रहेको संस्थारसमूहरसरकारी निकायबाट वडा अध्यक्षले तोकेका कम्तीमा दुई जना सदस्य (जसमा एक जना महिला अनिवार्य रहने), सम्बन्धित वडामा तोकिएको प्राधिकरणका कर्मचारी सदस्य तथा वडा सचिव सदस्य–सचिव रहने व्यवस्था गरिएको छ ।

नगरपालिकाले निर्माण गरेका वा लगानी गरेका ठूला संरचनाको संरक्षण, नियमित सञ्चालन, मर्मत सम्भार तथा प्रभावकारी उपयोगका लागि यस्तो संयन्त्र आवश्यक रहेको जनाएको छ ।

नगर प्रमुखदेखि प्राविधिक शाखासम्म संरक्षकको जिम्मेवारी

समितिको संरक्षकका रूपमा नगर प्रमुख, नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर र योजना शाखा प्रमुख रहने निर्णय भएको छ ।

नगरपालिकाले पछिल्लो निर्णयलाई विकास निर्माणका संरचनालाई केवल निर्माणमा सीमित नराखी दीर्घकालीन संरक्षण र उपयोग सुनिश्चित गर्ने प्रयासका रूपमा लिएको नगर प्रवक्त विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्