कम्मर मूनि पटुकी, पटुकी मूनि चरेश…


११ फाल्गुन २०८१, आईतवार १७:५४ मा प्रकाशित

कपिलवस्तु, फागुन ११ गते । भारत लैजान लागेको करिब १५ किलो चरेश कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । चरेश आउदै गरेको विशेष जानकारी पश्चात सक्रिय बनेको प्रहरीले सीमा क्षेत्रबाटै चरेश सहित तस्करीमा संलग्नलाई समेत पक्राउ गरेको हो ।

शनिबार ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको विशेष टोलीले नेपाल भारत सीमा क्षेत्रको दशगजाबाटै चरेश सहित ३ जनालाई नियन्त्रणमा लिएको बताएको छ । प्रहरीले रोल्पाको थवाङ गाउँपालिका, ५ कि प्रेमसरी रोका, रुकुमु पूर्वको भुमे गाउँपालिका, २ की सरिता पुनमगर तथा कपिलवस्तुको शिवराज नगरपालिका, ९ बनियाभार बस्ने सुकलाल घर्तीमगरबाट १४ किलो ७ सय ग्राम चरेश बरामद गरेको थियो ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुरज खत्रीका अनुसार विशेष सुराकी पाए लगत्तै टोलीलाई सीमा क्षेत्रमा खटाइएको थियो । “३ जनाले कम्मरमा सेतो कपडाले बाधेर भारत तर्फ जादै गर्दा नियन्त्रणमा लिई खानतलासी गर्दा चरेश भेटिएको थियो” निरिक्षक खत्रीले भने ।

पक्राउ परेका मध्ये प्रेमसरी रोकाबाट ६ किलो, सरिता पुन मगरबाट साढे ५ किलो र सुकलाल घर्तिबाट ३ किलो २ सयग्राम गरि जम्मा १४ किलो ७ सय ग्राम बरामद भएको थियो । अनुसन्धानका क्रममा प्रेमसरी रोकाले उक्त चरेश ७ लाखमा खरिद गरि ल्याएको बयान दिएको प्रहरी भनाई छ ।

पक्राउ गरेका मध्ये एक जना कारोबारी रहेको र बाँकी २ जना भरिया रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक निरन्जनदत्त भट्टले चरेश कारोबारी पक्राउ पर्नु प्रहरी सफलता भएको बताए । “यसअघि भरीया मात्र पक्राउ पर्दथे अहिले कारोबारी पक्राउ पर्दा केहि नयाँ तथ्य खुल्न सक्छ” भट्टले भने ।

सीमा क्षेत्रबाट हुने लागू औषध नियन्त्रणमा कपिलवस्तु प्रहरीले विगत ३ महिना देखि विषेश अभियान संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्