
फागुन १५ गते । कपिलवस्तुको विजयनगर गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा प्रथम भएको छ । यस जिल्लाका छ नगरपालिका र चार गाउँपालिका गरी १० स्थानीय तहमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा विजयनगर गाउँपालिकाले ९५.२५ प्रतिशत अङ्क ल्याएर प्रथम भएको सार्वजनिक नतिजामा उल्लेख गरिएको हो ।
आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा अनुसार यस गाउँपालिकाले शासकीय प्रबन्ध ९, सङ्गठन तथा प्रशासन ८, वार्षिक बजेट तथा योजना व्यवस्थापन १०.५, वित्तीय एवम् आर्थिक व्यवस्थापन १०.७५, सेवा प्रवाह १५.५, न्यायिक कार्यसम्पादन ७, भौतिक पूर्वाधार १०.५, सामाजिक समावेशीकरण ९.५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ८.५, समन्वय र सहकार्य ६ अङ्क प्राप्त गरेको छ ।
आर्थिक वर्ष २०७९/०८० को लिजामा ७८ प्रतिशत अङ्क ल्याएको विजयनगर गाउँपालिका आर्थिक वर्ष २०८०/०८१ मा लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये १६औं स्थानमा परेको छ भने जिल्लामा प्रथम भएको छ । प्रदेशमा बिजयनगर सँगै बाँकेको डुडुवा गाउँपालिका, रुपन्देहीको देबदह नगरपालिका, अर्घाखाँचीको सन्धीखर्क नगरपालिका, पाल्पाको रिब्दीकोट गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाले समान ९५.२५ प्रतिशत अंक ल्याएका छन् ।
यस्तै, जिल्लामा दोस्रोमा बाणगंगा नगरपालिकाले ९४.७५ प्रतिशत अङ्क ल्याएको छ । बाणगंगाले शासकीय प्रबन्ध ९, सङ्गठन तथा प्रशासन ७.५, वार्षिक बजेट तथा योजना व्यवस्थापन १०, वित्तीय एवम् आर्थिक व्यवस्थापन १०.७५, सेवा प्रवाह १६, न्यायिक कार्यसम्पादन ७, भौतिक पूर्वाधार ११, सामाजिक समावेशीकरण १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ७.५, समन्वय र सहकार्य ६ अङ्क प्राप्त गरेको छ । बाणगंगाले आर्थिक बर्ष २०७९/०८० को लिजामा सर्वाधिक ८९.५ प्रतिशत अंक ल्याएर प्रथम भएको थियो । यद्यपि, आर्थिक वर्ष २०८०/०८१ मा ५.२५ प्रतिशतले बढोत्तरी अंक ल्याएको छ ।
यसैगरि, बुद्धभूमि नगरपालिकाले ८६ प्रतिशत अङ्क प्राप्त गरेको छ । बुद्धभूमिले शासकीय प्रबन्ध ८.५, सङ्गठन तथा प्रशासन ७.५, वार्षिक बजेट तथा योजना व्यवस्थापन ९, वित्तीय एवम् आर्थिक व्यवस्थापन १०, सेवा प्रवाह १४, न्यायिक कार्यसम्पादन ७, भौतिक पूर्वाधार १०, सामाजिक समावेशीकरण ९, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ५, समन्वय र सहकार्य ६ अङ्क प्राप्त गरेको छ । बुद्धभूमिले पनि आर्थिक बर्ष २०७९/०८० को लिजामा ८१ प्रतिशत अंक ल्याएको थियो यद्यपि, आर्थिक वर्ष २०८०/०८१ मा ५ प्रतिशतले बढोत्तरी अंक ल्याएको छ ।
त्यसैगरी, कृष्णनगर नगरपालिकाले ८५.५ प्रतिशत अङ्क प्राप्त गरेको सार्वजनिक नतिजामा उल्लेख गरिएको छ । कृष्णनगरले पनि आर्थिक बर्ष २०७९/०८० को लिजामा ६७.२५ प्रतिशत अंक ल्याएको थियो । यद्यपि, आर्थिक वर्ष २०८०/०८१ मा १८.२५ प्रतिशतले बढोत्तरी अंक ल्याएर सेवा प्रवाहलाई चुस्त कार्यान्वयन गरेको बलियो आधार बनाएको छ ।
लिजाको सार्वजनिक नतिजा अनुसार शिवराज नगरपालिकाले ७९.२५ प्रतिशत अङ्क, महाराजगंज नगरपालिकाले ७२.५ प्रतिशत अङ्क, कपिलवस्तु नगरपालिकाले ७०.५ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।
मायादेवी गाउँपालिकाले ६७.२५ प्रतिशत अङ्क, शुद्धोधन गाउँपालिकाले ६३ प्रतिशत अङ्क, र यसोधरा गाउँपालिकाले ५९.७५ प्रतिशत अङ्क ल्याएको छ । आर्थिक बर्ष २०७९/०८० को लिजामा जिल्लाका यी पालिकाहरुले सन्तोषजनक रुपमा आफ्ना सूचकहरुलाई गम्भिरतापूर्वक लिएर कार्यसम्पादन गरेको पाइएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ बमोजिम स्थानीय तहको मूल्याङ्कन गरिन्छ । कार्यविधि अनुसार स्थानीय तहमा शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, समन्वय र सहकार्य गरी दस वटा क्षेत्रका १०० सूचकसहित १०० पूर्णाङ्कमा मूल्याङ्कन गरिएको हुन्छ ।
स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिहरूको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरूको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरूको जानकारी लिई आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न आर्थिक वर्ष २०७६/०७७ देखि स्थानीय तहको स्वमूल्याङ्कन गरिँदै आएको बिजयनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताए । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनको नतिजा जिल्ला समन्वय समितिबाट पृष्ठपोषण भए पश्चात् सार्वजनिक गरिने व्यवस्था रहेको उनले बताए ।
त्यस्तै, स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा यस जिल्लामा उत्कृष्ट भएको विजयनगर गाउँपालिकाले ९५ प्रतिशत अङ्क ल्याएको छ ।
आर्थिक वर्ष २०७६/०७७ को शुरुवातीमा लिजामा ४३.२५ प्रतिशत अङ्क ल्याएको विजयनगरले आर्थिक वर्ष २०७७/०७८ मा ६४.७५ प्रतिशत अङ्क ल्याएको थियो । यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा ७४.७५ प्रतिशत अङ्क, आर्थिक वर्ष २०७९/०८० मा ७८ प्रतिशत अङ्क र आर्थिक वर्ष २०८०/०८१ मा ९५.२५ प्रतिशत अङ्क गाउँपालिकाले ल्याउन सफल भएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताए ।