कपिलवस्तुमा एसईईका लागि ३४ वटा परीक्षा केन्द्र : यसबर्ष बगदी, बलुहवा, बैदौली र पडरिया केन्द्र थपिए


पालिका पत्र

२८ फाल्गुन २०८१, बुधबार १०:०९ मा प्रकाशित

फागुन २८ गते । आगामी चैत ७ गते देखि संचालन हुने यस वर्षको एसईई परीक्षाका लागि कपिलवस्तुमा परिक्षा केन्द्रहरु निर्धारण गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कपिलवस्तुले परीक्षा केन्द्रको निर्धारण गरेको हो ।

यसवर्षको माध्यमिक शिक्षा परीक्षामा जिल्लाभरीबाट १६७ वटा माध्यमिक विद्यालयका लागि ३४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कपिलवस्तुका प्रमुख लोकराज मरासिनीले जानकारी दिए । २०८१ सालकोे एसईई परिक्षा संचालन गर्न गत वर्षकै परीक्षा केन्द्रहरुमा थप चारवटा गरेर ३४ वटा पुर्याइएको उनले बताए ।

यसबर्ष पूर्णकेशर माध्यमिक बिद्यालय बगदी, जनता माध्यमिक बिद्यालय बलुहवा, अनिरुद्ध पब्लिक माध्यमिक बिद्यालय बैदौली र भद्र माध्यमिक बिद्यालय पडेरियामा केन्द्र थपिएका छन् ।

यस वर्ष कपिलवस्तुबाट नियमित र ग्रेडबृद्धि गरी भण्डै ९ हजार चारसय जनाले एसईई परीक्षामा भाग लिने बताइएको छ । कार्यालयले बिक्रम संवत् २०७८ र २०७९ सालका ग्रेडवृद्धि तर्फका सबै परीक्षार्थीहरुको परीक्षा केन्द्र वेस्ट पोइन्ट इ.बो. स्कुल अदालत टोल, तौलिहवामा कायम गरेको छ ।

यसैैबीच, साधारण तर्फका २०८० सालका ग्रेडवृद्धि तर्फका सबै परीक्षार्थीहरुको परीक्षा केन्द्र २०८१ सालका नियमित विद्यार्थीहरु रहेको परीक्षा केन्द्रमै कायम गरिएको छ ।

प्राविधिक धार तर्फका नियमित र प्राविधिक धार तर्फका २०८० सालका ग्रेडवृद्धि परीक्षामा सहभागी परीक्षार्थीहरुको परीक्षा केन्द्र तौलेश्वरनाथ संस्कृत मा.वि. तौलिहवा कायम गरिएको कार्यालयले जनाएको छ ।

परीक्षालाई मर्यादित रूपमा सञ्चालन गर्न केन्द्र अध्यक्षलाई जिम्मेवारी दिने, र उत्तरपुस्तिका प्रश्नपत्रहरु वितरण बाहेक कार्यालयको तर्फबाट हुने अन्य कामहरु सकिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्