नागरिक सहभागिता अभिवृद्धि गर्न नगर निरन्तर प्रयासरत छः मेयर श्रेष्ठ   


२८ फाल्गुन २०८१, बुधबार २१:०० मा प्रकाशित




बाणगङ्गा, २८ फगुन ।
बुद्धभूमि नगरपालिकाको गतिविधिमा आधारित सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बुद्धभूमि नगरपालिका मेयर केशव कुमार श्रेष्ठले नगरपालिकाले हालसम्म गरेका उपलब्धिहरू, वर्तमान योजनाहरू तथा भावी रणनीतिहरू प्रस्तुत गरे । उनले नगरपालिकाले पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागिता अभिवृद्धि गर्न निरन्तर प्रयास गरिरहेको बताए ।


कार्यक्रममा नगरपालिकाको विगतका कार्यहरू, हालका योजना तथा आगामी रणनीतिहरूबारे विस्तृत जानकारी गराइएको थियो । साथै, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय बासिन्दाहरू, सामाजिक अगुवाहरू र पत्रकारहरूले आफ्ना समस्या, गुनासा तथा सुझावहरू प्रस्तुत गरेका थिए । प्राप्त सुझाव तथा प्रश्नहरूको नगर प्रमुख सहित अन्य सम्बन्धित अधिकारीहरूले जवाफ दिएका थिए ।


सुनुवाइ कार्यक्रममा नागरिकहरूले यातायात, सरसफाइ, स्वास्थ्य सेवा, शिक्षा, पूर्वाधार विकास लगायतका विषयमा आफ्ना धारणा राखेका थिए । कतिपय स्थानीयले नगरपालिकाले सञ्चालन गरेका योजना प्रभावकारी भए पनि अझ बढी पारदर्शिता आवश्यक रहेको सुझाव दिए । सरसफाइ व्यवस्थापन, खानेपानीको सुविधा, सडक मर्मत तथा अन्य सार्वजनिक सेवामा सुधार ल्याउनुपर्ने माग राख्दै स्थानीय बासिन्दाहरूले आगामी दिनमा पनि यस्ता सुनुवाइ कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकतामा जोड दिए ।


सार्वजनिक सुनुवाइ कार्यक्रमको मुख्य उद्देश्य स्थानीय प्रशासन र नागरिकहरूबीच प्रत्यक्ष संवाद स्थापना गर्नु हो । नगरपालिकाको पारदर्शिता तथा उत्तरदायित्व प्रवर्द्धन गर्दै नागरिकहरूका समस्याहरूको समाधान खोज्ने प्रयासस्वरूप यो कार्यक्रम आयोजना गरिएको जनाइएको छ। साथै, नगरपालिकाले नागरिकहरूको सहभागितालाई अझ सशक्त बनाउन आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना गरिने जानकारी गराएको छ । 

पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालको अध्यक्षता, उपाध्यक्ष खग प्रसाद चापागाँईको स्वागत रहेको कार्यक्रमको सञ्चालन सचिव सनि उल्लाह धोविले गरेका थिए । कार्यक्रममा नागरिक प्रतिवेदन पत्रकार दिपक आचार्य तथा बर्हिगमन प्रतिवेदन महासंघका सह सचिव पिताम्बर घिमिरेले प्रस्तुत गरेका थिए । 


बुद्धभूमि नगरपालिकाको सभाहल, बुधबार कार्यक्रम सम्पन्न भएको हो  । नेपाल पत्रकार महासङ्घ, कपिलवस्तु शाखाको आयोजना तथा बुद्धभूमि नगरपालिका नगर कार्यपालिकाको कार्यालयको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय सरकारका पदाधिकारी, जनप्रतिनिधिहरू, नागरिक समाजका सदस्यहरू, पत्रकारहरू तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस्