
बाणगंगा, २५ चैत्र । बाणगंगा नगरपालिका–२, पिपरास्थित हिलवर्ट इङ्लिस बोर्डिङ स्कुलको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम २०८१ जारी छ। आइतबारदेखि सुरु भएको कार्यक्रममा पहिलो दिन प्ले ग्रुपदेखि युकेजी तहसम्मका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । तीन दिनसम्म चल्ने कार्यक्रमअन्तर्गत सोमबार कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई पुरस्कार वितरण गरिने विद्यालयका प्रिन्सिपल शिवकुमार पोखरेलले जानकारी दिए ।
विद्यालयले यसपटक पुरस्कार वितरणमा नयाँ शैली अपनाएको छ । साना कक्षामा उत्तीर्ण भएका सबै विद्यार्थीलाई मेडल प्रदान गरिएको छ भने युकेजी उत्तीर्ण गरी कक्षा १ मा प्रवेश गरेका विद्यार्थीलाई विशेष टोपी र गाउनमा सजाइएको थियो । विद्यार्थी गाउनमा सजिएका दृश्य कुनै विश्वविद्यालयको दीक्षान्त समारोह भन्दा कम थिएन । हर्षित मुद्रामा प्रस्तुत विद्यार्थीले अभिभावकलाई पनि भावुक बनाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष विष्णुप्रसाद पौडेलले हिलवर्ट इङ्लिस बोर्डिङ स्कुल प्रदेशमै होइन, राष्ट्रिय स्तरमै पहिचान बनाउँदै गएको बताए । उनले स्कुलको नतिजा प्रकाशन तथा पुरस्कार वितरण समारोहमा बोल्दै विद्यालयले शैक्षिक क्षेत्रमा मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि राम्रो प्रगति गरेको तथ्यांकले देखाएको उल्लेख गरे । पुरस्कार वितरणले विद्यार्थीलाई अझ हौसला प्रदान गर्ने विश्वास पनि उनले व्यक्त गरे । हिलवर्ट इङ्गलिश बोर्डिङ स्कुलको गुणस्तरीय शैक्षिक क्रियाकलापले नगरको शैक्षिक स्तरमा टेवा पुगेको वडा अध्यक्ष पौडेलले बताए। पौडेलले किताबमै सीमित ज्ञानले मात्र विद्यार्थीको क्षमता विकास नहुने भएकाले हिलवर्टले सञ्चालन गरेका अतिरिक्त क्रियाकलापहरू अत्यन्तै प्रशंसनीय रहेको धारणा व्यक्त गरे ।
विद्यालयका प्रबन्ध निर्देशक बुद्धि पौडेलले नर्सरीदेखि सबै कक्षाका प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने विद्यार्थीलाई टफि र मेडल प्रदान गरिएको जानकारी दिए । प्रबन्ध निर्देशक पौडेलले विद्यार्थी भर्ना कार्यक्रम तीव्र रूपमा जारी रहेको जानकारी दिँदै सीमित सिट भएकाले समयमै भर्ना गराउन अभिभावकलाई आग्रह गरे। उनले चैत २४ देखि ३ दिनसम्म विशेष छुट प्रदान गरिएको पनि बताए ।
विद्यालयका अध्यक्ष दीपक खनालले विद्यालय नवीन शैलीमा अघि बढिरहेको बताउँदै विद्यार्थीमा अध्ययनप्रति रुचि बढाउने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको बताए । उनले विद्यालयलाई लुम्बिनी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्था बनाउने लक्ष्य रहेको जानकारी दिए । कार्यक्रमको सञ्चालन विद्यार्थी तथा शिक्षक तेजप्रसाद आचार्यले गरेका थिए ।