“वन र मानव सम्बन्ध” विषयक निबन्ध प्रतियोगितामा हिलवर्टकि एन्जिला प्रथम


पालिका पत्र

21 June, 2025 8:59 pm मा प्रकाशित

बाणगङ्गा,  ७ असार  ।
बाणगङ्गा नगरपालिका–८ मा अवस्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा “वन र मानवबीचको अन्तरसम्बन्ध” विषयमा नगरस्तरीय खुला निबन्ध प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। ‘कलासाहित्य हाम्रो स्वाभिमान, संस्कृति जगेर्ना हाम्रो अभियान’ भन्ने मूल नारासहित कार्यक्रम दधि स्मृति साहित्य समाजको समन्वयमा सञ्चालन गरिएको थियो । प्रतियोगितामा नगर भित्रका विभिन्न विद्यालयका २१ जना विद्यार्थीहरूले निवेदन दिएका थिए भने १७ जनाले मात्र प्रतिस्पर्धामा सहभागिता जनाएका थिए ।


प्रतियोगितामा हिलवर्ट इङ्ग्लिस बोर्डिङ स्कुलकी  विद्यार्थी एन्जिला पाण्डे प्रथम स्थान हासिल गर्दै नगद सात हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्न सफल भइन् । यस्तै, द्वितीय हुने ज्ञानकुञ्ज इङ्ग्लिस बोर्डिङ स्कुलका मिसन आचार्यले पाँच हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे । तृतीय स्थान प्राप्त गर्ने कपिलवस्तु विद्यामन्दिरकी श्रद्धा घिमिरेले तीन हजार रुपैयाँसहित प्रमाणपत्र पाएकी छन् भने सान्त्वना स्थान निशा कडेल जेसिकाले दुई हजार रुपैयाँ र प्रमाणपत्र हात पारिन् ।


कार्यक्रममा मूल्याङ्कन समितिका संयोजक सूर्यप्रसाद भुसाल, प्रमुख अतिथि दधि स्मृति साहित्य समाजका अध्यक्ष लेखनाथ घिमिरे, विशिष्ट अतिथि वडा सदस्य विश्वास जिसी तथा अतिथि सब डिभिजन वन कार्यालय मोतिपुरका प्रमुख एजाज अहमद अन्सारीको उपस्थिति थियो।


प्रतियोगिता मधुवन सामुदायिक वनको सभाहलमा सम्पन्न भएको हो । आयोजकले प्रतियोगितामार्फत विद्यार्थीहरूमा सिर्जनात्मकता विकास गर्नुका साथै वन प्रतिको चेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्