श्रृङ्गीघाट सामुदायिक वनको आयोजनामा कफी व्यवसाय केन्द्रित तालिम सम्पन्न


पालिका पत्र

5 July, 2025 6:40 am मा प्रकाशित

बाणगंगा, २१ असार ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा एकल महिलाको जीवनस्तर उकास्ने र स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यले वारिष्टा (कफी सेवा सम्बन्धी) तालिम सम्पन्न भएको छ । श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा, कपिलवस्तु स्कुल अफ मेनेजमेन्ट र मानव अधिकारका लागि एकल महिला समूहको सहकार्यमा असार ६ गतेदेखि २० गतेसम्म संचालन भएको तालिम शुक्रवार सम्पन्न भएको हो ।

तालिममा बाणगंगा नगर क्षेत्रका १४ जना एकल महिला सहभागी थिए । उनीहरूले तालिम निकै प्रभावकारी रहेको बताउँदै, “पहिले कफीको नाम पनि थाहा थिएन, अहिले न केवल चिन्न सक्यौं, कफी मेकर मेसिन चलाउन पनि सक्ने भयौं,” भन्ने अनुभव सुनाए ।

कार्यक्रममा सव डिभिजन वन कार्यालय मोतिपुरका प्रमुख एजाज अहमद अन्सारीले यस्ता तालिमहरू महिलाको सशक्तीकरणमा महत्त्वपूर्ण माध्यम हुने बताए । उनले सीप विकासमार्फत आर्थिक आत्मनिर्भरता सम्भव हुने उल्लेख गरे ।

समाजसेवी विष्णु थापाले तालिम जस्तै सीपमूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै महिलाहरूको हरेक प्रयासमा सहयोग गर्न तयार रहेको बताए ।

त्यस्तै, बाणगंगा नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सुसिला पन्तले महिलालाई आर्थिक उत्पादनमा जोड्न यस्ता तालिम आवश्यक रहेको बताइन् । उनले नगरपालिकाले आगामी दिनमा पनि सीपमूलक तालिमका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

मानव अधिकारका लागि एकल महिला समूहकी जिल्ला अध्यक्ष रुपा राईले तालिमले महिलाहरूमा आत्मबल र दक्षता बढाएको बताउँदै, ‘समाजमा एकल महिलाले अब सीप देखाएर सम्मान कमाउन सक्ने वातावरण निर्माण भएको छ,’ उनले भनिन्।

श्रृङ्गीघाट सामुदायिक वन समूहका अध्यक्ष गणेशबहादुर सिंह ठकुरीले तालिममार्फत महिलामा आएको परिवर्तन गौरव गर्नलायक रहेको उल्लेख गर्दै आगामी दिनमा थप तालिमको तयारी भइरहेको जानकारी दिए । वन समूहकी सचिव सुष्मा खाँणले तालिमले महिलाको आत्मविश्वास र सीपमा सकारात्मक प्रभाव पारेको बताइन् । तालिम समापन कार्यक्रमको सञ्चालन पनि उनले नै गरेकी थिइन् ।

कपिलवस्तु स्कुल अफ म्यानेजमेन्टका प्रमुख दिलिप आलेले तालिमलाई व्यवसायी सीप विकास तथा महिलाको हकहितको संरक्षणमा केन्द्रित गरिएको उल्लेख गरे । उनले यस्तो कार्यक्रमलाई अझै व्यापक बनाउने योजना रहेको जानकारी दिए । कार्यक्रममा स्वागत मन्तव्य लेखा समिति संयोजक गुरुदेव पौडेलले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्