वैशाख १७, कपिलवस्तु।
कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।
कपिलवस्तु नगरपालिका–११ निग्लिहवा स्थित तौलिहवा–चार नम्बर सडक खण्डमा आज दिउँसो करिब २ बजे लु १ ख ८७९४ नम्बरको बस दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो ।
तौलिहवाबाट चार नम्बरतर्फ जाँदै गरेको उक्त बस अनियन्त्रितभई सडक किनारमा पल्टिँदा दुर्घटना भएको हो । बसमा सवार यात्रुमध्ये घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइतेमध्ये ६ जनाको अवस्था मध्यम र १३ जनाको अवस्था सामान्य रहेको छ । केही घाइतेलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि अन्यत्र पठाइएको छ । सामान्य अवस्थामा रहेका घाइतेहरुको उपचार युनाइटेड अस्पताल ठकुरापुरामा भइरहेको छ ।
बस चालक कपिलवस्तु बाणगंगा नगरपालिका–४ हरिहरपुर बस्ने ३८ वर्षीय शङ्कर सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
