वैशाख १७, काठमाडौं।
रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१ जलजलामा जिप दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीका अनुसार रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप बिहीबार दिउँसो सडकबाट करिब ८०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय, रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापाका अनुसार घटनास्थलमा वर्षा भइरहेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ।
प्रहरीका अनुसार जिपमा सवार यात्रुहरू जलजलामा लाग्ने वैशाख पूर्णिमाको मेलामा सहभागी हुन जाँदै गरेका थिए।
हालसम्म १७ जनाको मृत्यु पुष्टि भइसकेको छ भने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। उद्धार तथा खोजी कार्य जारी छ।
