१८ वैशाख,कपिलवस्तु ।
कपिलवस्तुमा पाँचवटा पेट्रोल पम्पको अनुगमन गरिएको छ । अनुगमनका क्रममा दुईवटा पेट्रोल पम्पमा इन्धन बिक्री गर्न अयोग्य देखिएकाले रोक लगाइएको छ । नापतौलमा अनियमितता भइरहेको जनगुनासो बढेपछि पेट्रोल पम्पको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा दुई पेट्रोल पम्पले मापदण्डभन्दा बढी पेट्रोल फाल्ने गरेको भेटिएपछि प्रशासनले ती पम्पमा पेट्रोल बिक्री–वितरणमा तत्कालका लागि रोक लगाएको छ । कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेको नेतृत्वमा बिहीबार गरिएको अनुगमनमा जिल्लाका पाँच पेट्रोल पम्पको नापतौल जाँच गरिएको थियो।
अनुगमनका क्रममा कपिलवस्तु नगरपालिका– १, तौलिहवास्थित चिन्नीलाल पेट्रोल पम्प र बुद्धभूमि नगरपालिका– १०, बिचगौरीस्थित तौलेश्वरनाथ आयल सेन्टरमा मापदण्डविपरीत पेट्रोल बिक्री–वितरण भइरहेको भेटिएपछि दुवै पम्पमा पेट्रोल बिक्री गर्न तत्काललाई रोक लगाइएको हो।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको नेतृत्वमा गएको अनुगमन टोलीले तौलिहवाको चिन्नीलाल पेट्रोल पम्प, गोरुसिंगेको रितु अटो सेन्टर, बडहराको बुद्धदर्शन पेट्रोल पम्प, प्रेमनगरको लक्ष्मी आयल सेन्टर र बिचगौरीको तौलेश्वरनाथ आयल सेन्टरमा नापतौल तथा गुणस्तर जाँच गरेको थियो ।
अनुगमनमा चिन्नीलाल पेट्रोल पम्पबाट ३५ मिलिलिटर र तौलेश्वरनाथ आयल सेन्टरबाट ५० मिलिलिटर बढी पेट्रोल फाल्ने गरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले जानकारी दिए । उनका अनुसार उपभोक्ताबाट निरन्तर गुनासो आएपछि प्रशासनले प्राविधिकसहितको संयुक्त अनुगमन टोली परिचालन गरेको हो ।
‘उपभोक्ताबाट नापतौलमा गुनासो आएपछि प्रशासनले गम्भीरतापूर्वक अनुगमन गरेको हो,’ सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले भने, ‘नापतौलमा मापदण्डविपरीत देखिएका दुई पेट्रोल पम्पमा तत्काल पेट्रोल बिक्री–वितरणमा रोक लगाइएको छ । सम्बन्धित व्यवसायीलाई तीन दिनभित्र कार्यालयमा उपस्थित भई स्पष्टीकरण दिन निर्देशन दिएका छौँ। उपभोक्ताको हितविपरीत हुने कुनै पनि गतिविधि भएमा प्रशासनले शून्य सहनशीलता अपनाउँछ ।’
गुणस्तर तथा नापतौल कार्यालय बुटवलका सहायक निरीक्षक गुरुप्रसाद पोखरेलले प्रारम्भिक अनुगमनमा मापदण्डभन्दा बढी पेट्रोल फालिएको देखिए पनि यान्त्रिक वा प्राविधिक कारणबारे थप परीक्षणपछि मात्रै यकिन निष्कर्षमा पुग्न सकिने बताए।
‘अनुगमनका क्रममा दुई पम्पमा मापदण्डभन्दा बढी पेट्रोल फालिएको देखियो,’ सहायक निरीक्षक पोखरेलले भने, ‘तर, यसको कारण मेसिनको प्राविधिक समस्या हो वा अन्य कुनै कारण, त्यो प्राविधिक टोलीबाट विस्तृत परीक्षण गरेपछि मात्रै स्पष्ट हुन्छ । गुणस्तर तथा नापतौल ऐनअनुसार कम बेच्ने र बढी बेच्ने दुवै कार्य दण्डनीय हुन्।’ उनले नापतौल उपकरणमा गडबडी, प्राविधिक त्रुटि वा नियतवश गरिएको अनियमितता जुनसुकै कारण भए पनि कानुनअनुसार कारबाही हुने बताए।
अनुगमन टोलीमा गुणस्तर तथा नापतौल कार्यालय बुटवलका सहायक निरीक्षक गुरुप्रसाद पोखरेल, टेकबहादुर थापा, घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका श्रवणकुमार शैनी, कपिलवस्तु नगरपालिकाका शिवप्रसाद पाण्डे, जिल्ला प्रशासन कार्यालयका जनकराज जोशी, नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसाल, उद्योग वाणिज्य संघ कपिलवस्तुका उपाध्यक्ष अजयकुमार कसौधनसहित सुरक्षाकर्मीको सहभागिता रहेको थियो।
प्रशासनले आगामी दिनमा जल्लिाभरका अन्य पेट्रोल पम्पमा पनि नियमित अनुगमनलाई निरन्तरता दिइने जनाएको छ । उपभोक्तालाई ठगी हुन नदिन र इन्धन वितरणलाई पारदर्शी बनाउन अनुगमन थप कडाइका साथ अघि बढाइने प्रशासनको भनाइ छ ।
